इटहरीः दुई अर्ब चुक्ता पूँजी रहेको भनिएको विराटनगरको तुलसी बहुमुखी सहकारीका हजारौँ बचतकर्ताको रकम दुरुपयोग गरी फिर्ता दिन नसकेपछि फरार भएका अध्यक्ष केदारनाथ शर्मा शुरुका एक सामान्य किराना पसले हुन् । 

बाँकेको कोहलपुरबाट काठमाडौँ आएर शान्तिनगरमा सामान्य किराना पसल शुरु गरेका शर्मा १४ हजार बचतकर्ताको रकम परिचालन गर्ने यती ठुलो तुलसी सहकारीका अध्यक्ष कसरी भएका हुन् भन्ने कुराको भित्री रहस्य भने छुट्टै छ । अहिले त्यती धेरै बचतकर्ताले जम्मा गरेको डेढ अर्ब बढी रकम फसेको छ । 

रकम फिर्ता नगर्नु एउटा कुरा हो, तर उनले कम्पनीको नियम विपरित नै सहकारीको रकम आफ्नो निजी प्रयोजन र कम्पनीहरुमा प्रयोग गरेका पाइएको छ । त्यही शिलशिलामा उनले सहकारीको पैसा भारतको एक अर्गानाइजेसनमा पनि शेयर लगानी गरेको खुलेको छ । 

उनी विरुद्ध हालसम्म १३ सय बढी बचतकर्ताले आफूहरुले ५० करोड रुपैयाँ बचत रकम फिर्ता नपाएको भन्दै ठगीको आरोपमा जाहेरी दिएका छन् । उक्त घटनामा स्थानीय प्रहरीले सिआइवीको सहयोगमा अनुसन्धान गरिरहेको छ । 

शर्मा र सञ्चालकमाथि आफ्नै कम्पनीहरुमा लगेर सहकारीको पैसा दुरुपयोग गरेको आरोप पनि लागेको छ । त्यसैले अहिले सहकारीका सञ्चालकलाई विदेश जान रोक लगाइएको छ भने सबै सम्पति रोक्का गरिएको छ । जमिन खरिदबिक्रीमा समेत रोक लगाइएको छ ।

केही सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने अध्यक्षसहित केही फरार छन् । सहकारीमा देशभरका १४ हजार बचतकर्ता ९विराटनगरका मात्रै ४ हजार० ले १ अर्ब ४९ करोड बचत गरेको पाइएको छ । 

बचत रकम फिर्ता नगरी ठगीमा परेको भन्दै बचतकर्ताले जिल्ला प्रशासन कार्यालय घेरेपछि भएको सामूहिक छलफलमा रकम तिर्ने सहमति गरेका सहकारीका अध्यक्ष केदारनाथ शर्मा त्यसपछि सम्पर्कविहीन भएपछि उनीमाथिको आरोप पुष्टी हुँदै गएको छ । १४ हजार सदस्य रहेको उक्त सहकारीमा विराटनगरका मात्रै ४ हजार सदस्य छन् । त्यहाँ १ अर्ब ४९ करोड बचत गरेको पाइएको छ । 

तुलसीले बचतकर्ताको रकम ठगेको भन्दै प्रहरीमा उजुरीपरेपछि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका हुन् । सहकारी ठगी प्रकरणलाई खोज्दै जाँदा बिजपाटीले केही भित्री कुराहरु फेला पारेको छ । बिजपाटी डटकमले गरेको खोजीमा यो सहकारीको ‘कनेक्सन’ ‘ब्रिटिश गोर्खा ग्रुप’देखि अन्य सहकारीसम्म जोडिएको छ । 

सहकारीका अन्य सञ्चालकहरु भने एकैपटक धेरै बचतकर्ताहरुले रकम माग गर्न आएकाले समस्या भएको दावी गर्दै आएको छ । उनीहरु सहकारीका धेरै ठाउँमा ठुलो मात्रामा जग्गा रहेको र उद्योगहरु प्नि रहेकाले बचतकर्ताको रकम नडुब्ने दावी गर्दै आएका छन् । 

ऋणीले तानेर विराटनगर पुगेका थिए केदारनाथ

सहकारीमाफर्त बचतकर्ता ठगी गरी हाल फरार रहेका केदारनाथ शर्मा कोहलपूरका मान्छे हुन् । काठमाडौँको शान्तिनगर गेट नजिकै सामान्य किराना पसल चलाउँदै बसेका शर्मा २०५० सालतिर ‘उपकार सेभिङ’ नामक सहकारीको सदस्य भए ।

त्यतिबेला उपकार सेभिङले साना किराना पसलहरुमा ऋण लगानी गरेर त्यस्ता किराना पसलहरुमा ‘उपकार सेभिङमार्फत सञ्चालित पसल’ भनेर बोर्ड नै राख्थ्यो । यसै क्रममा केदारनाथ शर्माले पनि सहकारीबाट ऋण लिए र ‘उपकार सेभिङमार्फत सञ्चालित पसल’ भनेर आफ्नो पसलमा बोर्ड राखे ।

उपकार सेभिङ गोरखा डेभलपपमेन्ट बैंकसँग सम्बन्धित थियो । किन की, डीबी बम्जन, ज्ञानबहादुर बम्जनलगायतका बम्जन दाजुभाई गोरखा डेभलपमेन्ट बैंकसहित उपकार सेभिङका सञ्चालक थिए । ज्ञानबहादुर त उपकार सेभिङका अध्यक्ष नै थिए । तर, कालान्तरमा गोरखा डेभलपमेन्ट बैंकमा समस्या आयो ।  

त्यसपछि सञ्चालकहरु लाखापाखा लागे । त्यही मौकामा केदारनाथ शर्मा उपकारको सञ्चालक भए । ‘ब्रिटिश गोरखा ग्रुप’ अन्तरगत १० वटा जति सहकारी थिए । स्वर्णलक्ष्मी, श्री लालिगुँरास, कल्याण, कुमारी, ग्रेट, उपकार र शिखरदीपलगायतका सहकारी ब्रिटिश गोरखा ग्रुपका भनिन्थे । 

समयक्रमसँगै प्रभाव जमाउँदै केदारनाथ शिखरदीपको अध्यक्ष भए । यसपछि ब्रिटिश गोरखा ग्रुपबाट अलग्गिएर ‘शिखर अर्गनाइजेशन’ बनाए । लगत्तै, शिखरदीप सहकारी अर्को सहकारीमा मर्ज गराएर नाम शिवशिखर बनाए । सर्बसाधारणबाट सङ्कलित निक्षेप घर–जग्गा र आफ्नै व्यवसायमा लगाउन थाले ।

सहकारीमार्फत अलिअलि भएको लगानी उठ्न छाड्यो । बानेश्वरमा पसल चलाउँदै आएका रोशन न्यौपाने नाम गरेका व्यक्तिले पनि यो सहकारीमार्फत ऋण लिएका थिए । सहकारीले पटक–पटक ताकेता गर्दा पनि ऋण फिर्ता नगरी उनी फरार भए । त्यो लगानी उठाउन अध्यक्ष शर्मा आफैँ सक्रिय भए । पटकपटक उनी ऋणी न्यौपानेलाई खोज्न पुग्थे । 

यसैक्रममा उनको ती ऋणी रोशन न्यौपानेकी श्रीमती झापा दमककी सविना न्यौपानेसँग भेट भयो । अनि उनले ऋण उठाउनुको सट्टा २०७१ सालमा ‘तुलसी बहुमुखी सहकारी संस्था’ दर्ता गरेर उनै सविनालाई प्रबन्ध निर्देशक बनाए । विराटनगरमा केन्द्रीय कार्यालय राखेर तत्कालिन मेची, कोशी र सगरमाथा अञ्चल (हालको कोशी प्रदेश)मा सम्राज्य फैलाउन लागे । पछि उनै केदारनाथले सविनालाई तुलसी सहकारीको सचिव बनाए र आफू अध्यक्ष भएर बसे । 

यसपछि १४ हजार बढी बचतकर्ताहरुमार्फत सङ्कलित रकम विराटनगर–१९ स्थित तुलसी मोटरपम्प र उनै शर्माले चलाएको गार्डेन मार्ट नामक डिपार्टमेन्ट स्टोरलगायतमा लगानी हुने क्रम बढ्यो । 

यसरी फरार भए केदारनाथ 

धेरै ठाउँमा लगानी भएपछि बचतकर्ताहरुले रकम माग गर्दा पाएनन । बचतकर्ता पैसा माग्न आउँदा रित्तो हात फर्किनुपरेपछि आक्रोसित भए । हल्ला फैलिँदैगयो र पैसा माग्न कार्यालयमा बचतकर्ताको भिड नै हुन थाल्यो । 

यसपछि बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालयलाई गुहारे । जिल्ला प्रशासन कार्यालय मोरङले सहकारीका सञ्चालक र बचतकर्तालाई छलफलमा बोलायो । माघमा भएको छलफलमा अध्यक्ष शर्मासहित सञ्चालकहरुले ५ दिनभित्र सेयर सदस्यको रकम फिर्ता गर्ने भन्दै सहमति जनाए । तर, बचतकर्ताको रकम फिर्ता भएन । उल्टै फागुन १ गतेबाट सहकारी नै बन्द गरेर सञ्चालक फरार भए ।

यसपछि सेयर सदस्यहरुले पुनः प्रशासनलाई गुहारे । सँगै, सञ्चालकका घरमा घेरा हाले । अध्यक्ष शर्मा फरार भइसकेका थिए, सचिव न्यौपाने पनि क्यानडा उड्ने तयारीमा थिइन्, तर उड्न नपाइ प्रहरीले पक्राउ गर्यो । उनीसँगै उपाध्यक्ष अनिता गौतम पनि प्रहरी हिरासतमा छन् ।

दुई अर्ब चुक्ता पूँजी रहेको भनिएको तुलसी बहुमुखी सहकारीमा देशभरका १४ हजार बचतकर्ता (विराटनगरका मात्रै ४ हजार) ले १ अर्ब ४९ करोड बचत गरेको पाइएको छ । यो रकम अब कसरी फिर्ता हुन्छ भन्ने यकिन छैन ।

मोरङ प्रशासन र प्रहरी के भन्छ ?

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निरञ्जन दाहालले सहकारीका विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । हालसम्म १३ सय बढी बचतकर्ताले आफूहरुले ५० करोड रुपैयाँ बचत रकम फिर्ता नपाएको भन्दै जाहेरी दिएको डिएसपी दाहालले जानकारी दिए ।

‘जाहेरवाला १३ सय जना पुग्नु भएको छ, उहाँहरुले ५० करोड बचत रकम फिर्ता नपाएको भन्नु भएको छ, पीडीतहरु जाहेरी दिन आउने क्रम जारी नै छ’ डिएसपी दाहालले भने, ‘अध्यक्ष फरार नै हुनुहन्छ, पक्राउ परेका २ जना सञ्चालक हिरासतमै हुनुहुन्छ, अनुसन्धान भइरहेको छ ।’

उता जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह यसअघि बचतकर्ताहरु बचत रकम फिर्ता नपाएको भन्दै प्रशासनमा आएपछि दूबै पक्षलाई राखेर एकपटक सहजीकरण गरिदिएको बताउँछन् । त्यसपछि अध्यक्ष नै सम्पर्कविहिन भएकाले अहिले प्रहरी र सीआइवीले अनुसन्धान गरिरहेको उनले बताए ।

एक्सनमा सहकारी विभाग

तुलसी सहकारीले बचतकर्ताको रकम फिर्ता नदिइ सञ्चालकहरु नै सम्पर्कमा आउन छाडेपछि सहकारी विभागले पनि ‘एक्सन’ लिएको छ । 

विभागले गृह मन्त्रालय र अध्यागमन विभागमा पत्र पठाउँदै तुलसी सहकारीका सञ्चालक र व्यवस्थापकलाई विदेश भ्रमणमा जान नदिन भनेको छ । त्यस्तै, उक्त सहकारीका सञ्चालक र व्यवस्थापकको सम्पत्ति रोक्का राख्न राष्ट्र बैंकलाई पनि पत्र पठाइसकेको छ ।

यस्तै, भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत देशैभरका मालपोत कार्यालयहरुमा पनि पत्र पठाउँदै सहकारी विभागले तुलसी सहकारीका सञ्चालकहरुको नाममा रहेका जग्गा रोक्का राख्न भनेको छ । बीजपाटीबाट