भोजपुरः ७ वर्षअघि सुनिल गजमेर मलेसियाको क्वालालम्पुर पुगे । मलेसियामा राम्रो कमाइ नभएपछि उनी टेम्केमैयुङ गाउँपालिका–६, कोट सिक्तेलस्थित घरमा नै फर्के ।

३१ वर्षीय सुनिलले मलेसियामा कमाएको पैसा मलेसिया आउँदाजाँदाको ऋण तिर्दैमा सकियो । ऋण तिर्दातिर्दै कमाएको पैसा सकिएपछि पुनः सुनिल कतारमा पुगे । कतारमा पनि कम्पनीले राम्रो तलब नदिएपछि डेढ वर्ष नपुग्दै घर फर्किए ।

पटक–पटकको वैदेशिक रोजगारबाट घर समेत नचलेपछि गजमेरले आफ्नै पुख्र्यौली पेशा खुकुरी बनाउने आरनलाई अँगाले । मलेसिया र कतारमा बगाउने पसिना आफ्नै ठाउँमा बगाउनुपर्छ भन्ने उद्देश्यले २०७० सालबाट बाबुसँगै खुकुरी कारखाना खोलेर व्यवसाय शुरु गरेका उनले अन्ततः विदेशमा भन्दा स्वदेशमै राम्रो आम्दानी गरेका छन् । निरन्तरको लगाव र परिश्रमले खुकुरी कारखानाबाटै सदरमुकाम छेउमा पक्की घर किनेका छन् ।

विदेशमा अर्काको गुलामी गर्नुको सट्टा आफ्नै घरमा परिवारको साथ सहयोगमा परिश्रम गरे जे पनि हुने उनी सुनाउँछन् । ‘विदेशमा काम गर्दा बिरामी समेत भन्न पाइँदैनथ्यो, काममा गइएन भने मालिकले तलब काटिदेला भन्ने डर हुन्थ्यो,’ उनले भने, ‘समयमा पुगेर काम गर्नुपर्ने बाध्यताको नोकरी भन्दा त स्वदेशमै दुःख गरे परिवारसँग बसेर एकछाक आनन्दले खान पुग्छ ।’

khukuri  (1) copy

विदेशमा १ं८ घण्टा काम गर्दा पनि महिनाको ३० देखि ३५ हजार तलब बुझ्न मुस्किल परेको अनुभव सुनाउने सुनिल अहिले खुकुरी बनाएरै मासिक ७० हजारसम्म कमाइ हुने गरेको सुनाउँछन् । भोजपुरे खुकुरीको निकै ठूलो माग छ, यहाँबाट लाखौँ रुपैयाँको खुकुरी जिल्लाबाहिर निकासी हुने गरेको छ । खुकुरी बनाउने पेशामा अन्य पेशामा भन्दा निकै परिश्रम गर्नुपर्ने भए पनि समयमै आर्थिक उन्नति गर्न सकिने उनी सुनाउँछन् ।

‘पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने होइन’, उनी भन्छन्, ‘आफ्नो हातमा जुन सीप छ त्यही सीपको सदुपयोग गरेर परिश्रम गरे विदेशमा कमाइनेभन्दा बढी कमाउन सकिन्छ ।’
त्यस्तै, खुकुरी बनाउने उद्यमबाटै सफल बनेका भोजपुर–१०, भैँसीपंखा खुरिल्लाका ३० वर्षीय घनश्याम विश्वकर्मा रोजगारको सिलसिलामा २०६७ सालमा कुबेत पुगे । राम्रो कमाइको आश गरेर ऋणपान गरेर कुबेत पुगेका घनश्याम ३ वर्षपछि स्वदेश फर्किए ।

कुबेतमा मासिक ४५ हजार कमाउन दैनिक १६ घण्टा ड्युटीमा खटे पनि घरखर्च धान्नै गाह्रो हुने भएपछि आफ्नै ठाउँमा पुख्र्यौली पेशालाई अँगाल्नेमा उनी लागे । पुनः विदेश जाने सोच बदलेर आफ्नै पुख्र्यौली सीपलाई आत्मसात गर्दैै ०७० सालतिर उर्मिला आरन उद्योगमा काम गर्न थालेपछि उनलाई पनि यहीँ विदेश भएको छ । खुकुरी बनाउने कामबाट राम्रो आर्थिक स्रोत बनेको यो पेशाले आफ्नो परिवारलाई खानलाउन र घरखर्चबाट बचाएर कम्तीमा २० हजारदेखि ३५ हजारसम्म मासिक बचत हुने गरेको छ ।

‘सीप हुँदा नेपालमै राम्रो कमाइ हुन्छ, विदेशै धाइरहन जरुरी छैन’, विश्वकर्माले भने, ‘यो पेशालाई व्यवस्थित बनाउन सीपको जरुरी छ । विदेशमा पोखाइने श्रम र पसिनालाई उपयोग गरेर हाम्रै पाखो भित्तामा पनि सुन फलाउन सकिने रहेछ ।’

प्रत्येक १० इञ्चका खुकुरी बराबर ५ सय रुपैयाँ पारिश्रामिक लिने घनश्यामले दिनमा ४ वटासम्म खुकुरी बनाउन भ्याउँछन् । उनी उक्त कारखानामा काम गरेको ५ वर्ष भएको छ भने घरमा उनका ३ दाजुभाइ पनि आरन चलाउने गर्छन् ।

कुनै बेला विदेशमा कमाएको पैसाले घरखर्च धान्नै मुस्किल पर्ने उनलाई अहिले यही पेशा गरेरै विदेशमा भन्दा कुस्त कमाइ गर्ने गतिलो आयस्रोत बनेको छ ।
संसारलाई वीर गोर्खालीको चिनारी दिएको र विदेशी मुद्रा आर्जनमा समेत राम्रो स्रोत बन्न सफल प्रसिद्ध भोजपुरे खुकुरी बनाउने पेशाबाट सोचेअनुरूप नै कमाइको बाटो बनेको यहाँका उद्यमी सुनाउँछन् । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँमा बन्ने खुकुरीको तुलनामा एकदमै लोकप्रिय हुनाले अधिक माग छ ।

वि.स. १९६५ सालतिरबाटै भोजपुरमा खुकुरी बन्न थाले पनि २०२७ सालमा राजा महेन्द्र आफ्नोे राजकीय भ्रमणको क्रममा भोजपुर आउँदा बोखिम भन्ने ठाउँका एक जनाले पहिलोपटक राजालाई खुकुरी उपहारस्वरुप दिएका थिए ।

त्यतिबेला राजालाई उक्त उपहार खुकुरी दिने बोखिमका सिहबहादुर विश्वकर्मा ‘सिने’को खुकुरीको कौशलबाट आकर्षित बनेपछि राजा महेन्द्रले १ हजार रुपैयाँ उनलाई बक्सिस स्वरूप दिएका थिए । त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ ।

जिल्लाको सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारमा भोजपुरे खुकुरी बनाउने गरिन्छ । अन्तर्राष्ट्रियस्तरमा ख्याती पाएको चर्चित भोजपुरे खुकुरीको माग प्रशस्त भए पनि कच्चापदार्थ र दक्ष कालिगढको अभावमा माग अनुसारको उत्पादन धान्न नसकिएको २०४७ सालदेखि भोजपुर सदरमुकाममा उर्मिला आरन उद्योग सञ्चालन गर्दै आएका उद्यमी हीरा श्रेष्ठले बताए ।

खुकुरीको बजारलाई फराकिलो बनाउन अन्तर्राष्ट्रियस्तरमा राज्यबाटै व्यापारिक कुटनीतिक सम्झौता हुन सकेको खण्डमा यही पेशाबाट हजारौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उद्यमी श्रेष्ठ बताउँछन् । चीन र भारतबाट पनि खुकुरीको माग हुने गरे पनि खुला व्यापारिक नीति नहुँदा निकासीमा कमी आएको उनी बताउँछन् । उनले भने, ‘चीन र भारतमा भाला, तरबारजस्ता हतियारलाई वैधता दिएको छ । तर नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाएका कारण पनि यहाँ उत्पादित खुकुरी बाहिर निर्यात हुन नसकेको हो । यसका लागि राज्यले नयाँ नीति बनाउन आवश्यक छ ।’

करिब डेढ वर्ष अघिसम्म करोडाँैको भोजपुरे खुकुरीको निकासी हुने सदरमुकाममा सङ्घीय संरचना बनेपछि भने केही बजार सुस्ताएको व्यवसायी सुनाउँछन् । स्थानीय तहमा बजार बिस्तार भएसँगै ग्रामीण भेगबाट खुकुरीका लागि आउने मानिसको सङ्ख्या केही मात्रामा घटेको उनी सुनाउँछन् । सरकारले पनि खुकुरी उद्यमीलाई खुकुरी बनाउन चाहिने ग्लेन्डर, मोटरजस्ता मेसिनरी सामानमा ८० प्रतिशत सहुलियत अनुदानले पनि उद्यमीलाई धेरै सहज भएको छ ।

विभिन्न आकर्षक बुट्टाले भरिपूर्ण हुने भएकाले भोजपुरे खुकुरीले देश–विदेशमा पनि उत्तिकै चर्चा बटुलेको छ । भोजपुरे खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्पेनलगायत पश्चिमा युरोपेली मुलुकमा मायाको चिनो दिन र सजावटको लागि पुग्ने गर्छ ।
त्यस्तै छिमेकी मुलुक भारत, चीन, हङकङ, सिंगापुर, बहराईन, जापान, कोरियातिर पनि राम्रै निकासी हुने गरेको यहाँका उद्यमी सुनाउँछन् । कडा कानुनका कारण अरेबियन मुलुकमा हातहतियारको रूपमा लिईने नेपाली खुकुरी खुला रूपमा लान नमिल्ने व्यवस्था भए पनि सालका काठबाट निर्मित सजावट काठे खुकुरी चिनो स्वरूप लाने गरिएको छ ।

यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाडौं लगायतका शहर तथा भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत लगायत विदेशमा पनि निर्यात हँुदै आएको छ ।

खुकुरी बनाउने पेशाप्रतिको हिचकिचाहट छोडेर काम गर्ने हो भने यहीँ विदेशको कमाइभन्दा बढी आम्दानी गर्न सकिने अर्का उद्यमी ५१ वर्षीय गणेश गजमेर सुनाउँछन् । उनी भन्छन्, ‘आरनमा गाह्रो र काम गर्न सक्नेका लागि यो पेशाले रामै्र सन्तुष्टि दिन्छ । यो पेशाप्रतिको चासो लिने युवापुस्तालाई भने पैसा कमाउन विदेशै गइरहन पर्दैन ।’

आफूकहाँ महिनामा ३ सयदेखि ४ सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले कामको भ्याइनभ्याइ हुने उनी बताउँछन् । विशेषगरी दशैँतिहार जस्तो चाडबाडमा कारखानामा खुकुरीको माग बढी हुने गरेको उनी सुनाउँछन् । गतसाल मात्रै उनले दशैँको बेला २ लाख रुपैयाँको खुकुरी बेचेको बताए ।