प्रकाश बन्जारा
इटहरीः इटहरी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य सेवामा स्थायी कर्मचारीले तीन महिनादेखि तलव नपाएको पाइएको छ ।
सशर्त अनुदान मार्फत तलव भत्ता पाइरहेका स्वास्थ्य सेवा तर्पmको कर्मचारीले स्वीकृत दरबन्दी भन्दा झण्डै डवल कर्मचारी भएका कारण तलव खानै नपाएको बताइएको छ ।
संघीय सरकारबाटै तलव पाउने स्वास्थ्यका कर्मचारीको लागि साढे ४ करोड बराबरको पैसा आउनु पर्नेमा संघीय सरकारले २ करोड ३ लाख रुपैँया मात्रै निकासा गरेका ५ महिनाको मात्रै तलव खान पुगेको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका दिनेश चौधरी बताउँछन् ।
स्वीकृत दरबन्दी अनुसार मात्रै तलव निकासा हुने भएको र कर्मचारीको संख्या बढी भएका कारण उपमहानगरलाई तलव भत्ता ख्याउन गाह्रो भएको बताइएको छ । यस अघि उपमहानगरले २ महिनाको तलव आन्तरिक आम्दानीबाट पछि शोधभर्ना हुनेगरी ख्वाएको छ भने पछिल्लो ३ महिनाको तलव ख्वाउन बाँकी छ ।
इटहरी उपमहानगरमा स्वीकृत दरबन्दी ४० जनाको छ भने हाल १८ जना बढी कर्मचारी कार्यरत छन् मेडिकल अफिसरमा १ जनाको स्वीकृत दरबन्दी भएको अवस्थामा इटहरी अस्पतालको स्तरउन्नती गर्दै गर्दा छात्रवृद्धी सहित ५ जना डाक्टरहरु नै भएका छन् । स्वीकृत दरबन्दीमा १ जना मेडिकल अफिसरको तलवमात्रै सशर्त अनुदानमा समेटिन्छ । कतिपय अवस्थामा त सरकारले सिर्जना गरिदिएको दरबन्दीमा समेत स्थानीय सरकारको दायित्व रहनेगरी गरिएकाले उनिहरुको तलवभत्ता स्थानीय सरकारले नै दिनुपर्ने अवस्था छ ।
करार तथा ज्यालादारीमा रहेका कर्मचारीको तलवभत्ता स्थानीय सरकारले नियमित गरेको भएता पनि स्थायी कर्मचारीको तलव संघीय सरकारबाट नआएकाले दिन नसकेको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता बताउँछन् ।
मेहताका अनुसार उपमहानगरले २ महिना पहिला नै तलव अपुग भएको भन्दै उपलव्ध गराईदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ । पहाडी जिल्लाबाट सहमति लिएर सरुवा भइ आएका कर्मचारीको तलव विगतका बर्षमा पठाउँदै आएको भएता पनि यसपालि भने रोकिएको अधिकृत मेहताको भनाई छ ।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम कर्मचारी समायोजन पश्चात भएको समायोजन मिलान तथा सम्बन्धित तहहरुको दोहोरो सहमतिका आधारमा खटिएकै निकायबाट तलव भत्ता भुत्तानी हुने गरी कामकाज गर्न खटाइएका इटहरी उपमहानगरपालिका, पोखरा महानगरपालिका, धनगढी, कैलाली, विरेन्द्रनगर कोहलपुर लगायतका पालिकामा स्वास्थ्य कर्मचारीको तलव भत्ता नपुग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नपुग तलव भत्ता तुरुन्त पुर्ती गर्न मन्त्रालयको आर्थिक शाखालाई पत्र पुगिसकेको भएपनि काम भने भएको छैन ।
स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत वैकुण्ठ राज रेग्मीले आफनै मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखालाई पत्राचार गर्दै गत आइतबार तलव भत्ता उपलव्ध गराइदिन सिफारिस गरेका थिए । करिव २ अर्व बराबरको तलव भत्ताको दायित्व संघीय सरकारले बहन गर्नुपर्ने देखिएको अर्थमन्त्रालय समाचार स्रोतको भनाई छ ।
इटहरी उपमहानगरपालिका भित्र स्वास्थ्य तर्फ १३७ जना कर्मचारी कार्यरत छन् भने त्यसमा ४८ जना करारमा रहेको प्रशासन शाखाको तथ्याङ्कले बताउँछ ।