इटहरीः इटहरी उपमहानगरपालिकाले तीन महिनादेखि बक्यौता रहेको स्वास्थ्य सेवा तर्फका कर्मचारीको तलवभत्ता आन्तरिक कोषबाट सापटी लिएर दिने निर्णय गरेको छ । 

उपमहानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले स्वास्थ्य सेवा तर्फका कर्मचारीले विगत तीन महिना देखि तलव भत्ता नपाएको भन्दै आन्तरिक कोषको अवस्था हेरी सापटी लिएर तलवभत्ता खुवाउने निर्णय गरेको हो । 

प्रदेश पोर्टलले केही दिन अगाडि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुले ३ महिनादेखि तलब भत्ता नपाएको समाचार प्रकाशन गरेको थियो । सुक्रबारको कार्यपालिका बैंठकको पहिलो कार्यसूची नै सोही बिषयमा प्रस्तुत गरिएको र सोही अनुसार निर्णय गरिएको हो । 

दरबन्दि भन्दा बढी कर्मचारी रहेपछि संघीय सरकारबाट पठाएको स्वास्थ्य सेवा तर्फको तलवभत्ता अघिल्लो ५ महिनामै सकिएपछि तलव भत्ता पाउन सकेका थिएनन् । संघीय सरकारबाट आएको पैसा पहाडी जिल्लाबाट सहमति लिएर सरुवा भई आएका कर्मचारीलाई तलवभत्ता ख्वाउन नपुगेको उपमहानगरपालिकाले बताएको छ ।  स्वास्थ्य सेवा तर्फका कर्मचारीको तलवभत्ताको लागि चालु आर्थिक बर्षको अन्तसम्म नगरपालिकाले नै व्यभारको जिम्मा लिने गरी खर्च गर्ने कार्यपालिकाले निर्णय गरेको छ । 

337503139_3657378504489857_1676635828090429222_n

इटहरी उपमहानगरभरी स्वास्थ्य सेवा तर्फ १३७ जना कर्मचारी रहेकोमा ४८ जना कर्मचारी करार सेवामा रहेको बताइएको छ । स्वास्थ्य महाशाखाका अनुसार १८ जनाभन्दा बढी कर्मचारी बढी हुँदा संघीय सरकारले पठाएको तलव अपुग भएको हो । 

पछिल्लो समय इटहरी उपमहानगरले इटहरी अस्पताल र आयुर्वेदिक अस्पतालमा ज्वालादारीमा इटहरी सुरक्षा गार्ड, कार्यालय सहयोगी र सफाई कर्मचारी थप गरेको हो । हाल उनीहरुलाई दैनिक ज्वालादारी राखेपछि विस्तारै मासिक ज्वालादारी र करारमा राख्ने योजना अनुसार उनीहरु थ्प गरिएको बुझिएको छ ।