धरानः पूर्व पश्चिम राजमार्गको वैकल्पिक राजमार्गको रुपमा रहेको धरान– हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल बन्ने काम अन्ति चरणमा रहेको बताइएको छ ।

धरान र चतराको बीचमा पर्ने सर्दू खोलामा २ वटा ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनियर आर्यन आचार्यले जनाए ।

सर्दू खोलामा रहेको २ सय ५० मिटर लामो पुल ठकुरी खोलामा रहेको २५ मिटर लामो पुलको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ ।

सम्झौतामा उल्लेखित मितिभन्दा १ वर्ष पहिले नै निर्माण हुने
पुल निर्माण कम्पनीले सम्झौता मितिभन्दा एक वर्षअघि नै निर्माण गरी पुल हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ । इञ्जिनियर आचार्यले ती दुवै पुल निर्माण अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तीव्र गतिमा निर्माण भएकाले तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण पूरा हुने बताए ।

सो कम्पनीले निर्माणको जिम्मा पाएको पटनाली, सर्दू र ठकुरी पुलको कुल लागत रु ५५ करोड रहेको र आगामी सन् २०१९ को डिसेम्बरसम्म समयसीमा रहे पनि करीब एक वर्षअघि नै निर्माण गर्ने योजना बनाएको आचार्यले बताए ।