तेह्रथुमः तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउने अभियानअन्तर्गत ५५ लाख रुपैयाँ सङ्कलन भएको छ ।

जोगी बचाऊ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनी’ ६२ लाख रुपैयाँ जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम सङ्कलन भइसकेको अभियानले जनाएको छ ।

परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि उनले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पु¥याउँदा साथीको मृत्यु भएको थियो ।

फिलिपिनी साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । खड्गबहादुरलाई अदालतले ५ वर्ष कैद र २ लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो ।