इटहरीः नक्कली परीक्षार्थी खडा गरी माध्यमिक शिक्षा परीक्षा एसईईपरीक्षा दिन लगाउने कन्सल्टेन्सी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ्गमा नक्कली परीक्षार्थी पक्राउ परेपछि गरिएको अनुसन्धानको आधारमा प्रहरीले  धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाइ पक्राउ गरेको हो ।

एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जन बढी प्राइभेट इन्स्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ ।

सक्कली परीक्षार्थीहरूले प्रति व्यक्ति ३० हजार देखि ४० हजार रुपैयाँसम्म लिएर उनीहरूले पास गराउने ग्यारेन्टी दिएर खेताला परीक्षार्थी लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने सुनसरीका बढी कन्सल्टेन्सी रहेको छ । टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सल्टेन्सीका सोनाम रिजाल रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।

 उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन् । नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन् । खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुस्ट रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गरेको पाइएको छ । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन् ।

मोरङ माध्यमिक शिक्षा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि प्रहरीले गरेको अनुसन्धानले कन्सल्टेन्सिको आवद्धता खुलेको हो । प्रहरीले  चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा अधिकतम परीक्षार्थी धरान र बेलबारीका छन् । धरानबाट अधिकांश कन्सल्टेन्सी विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए । कन्सल्टेन्सीहरूले नक्कली परीक्षार्थीबाट परीक्षा दिलाएर उत्तीर्ण गराइदिने भन्दै मोटो रकम लिने गरेको पाइएको छ ।