धनकुटाः धनकुटाको चौबिसे क्षेत्रका बासिन्दा यतिबेला आधुनिक कृषि खेतीतर्फ आकर्षित भएका छन् । अधिकांश विदेशवाट फर्किएका युवा गाउँघरमै टनेल अर्थात् प्लाष्टिक घरभित्र तरकारी खेती गर्न थालेका हुन् ।

बेमौसममा पनि खेती गर्न सकिने, रोगकीरा लागेको खण्डमा व्यवस्थापन गर्न सहज हुने र दोब्बर उत्पादन हुने भएकाले गर्दा किसान टनेल खेतीतर्फ आकर्षित भएका हुन् । ५ वर्ष अघिसम्म व्यावसायिक तरकारी खेती गर्ने किसान पाउन मुस्किल पर्ने यो क्षेत्रमा अहिले भने गाउँका प्रायः बस्ती आधुनिक कृषि पेशामा आबद्ध छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति बढी मात्रामा कृषि पेशातर्फ लागेका छन् । दशक भन्दा बढी समय खाडी मुलुकमा बिताएका चौबिसेको राजारानीस्थित दिपेश लिम्बू नेपाल फर्किएर अहिले दर्जन हाराहारीमा प्लाष्टिक घर बनाएर खेती गरिरहेका छन् ।

विदेशमा गरिने मिहिनेत नेपालमै गर्दा सोभन्दा राम्रो कमाइ हुने लिम्बूको भनाइ छ । ‘योभन्दा धरै दुःख त विदेशमा गर्नुपर्छ । यहाँ आफ्नो परिवारसँगै बसेर अलिअलि काम गर्दा त्यहाँको भन्दा राम्रो आम्दानी गर्न सक्छौँ’ लिम्बू भन्छन् ।

लिम्बूजस्तै विदेशबाट फर्किएका युवा आकर्षित भएसँगै चौबिसे गाउँपालिका क्षेत्रमा टनेल घरभित्र खेती गर्ने क्रम बढिरहेको छ । यस क्षेत्रमा पर्ने राजारानी, मौनाबुधुक, वसन्तटार, बोधे, मुढेबास लगायतका स्थानमा मात्रै २ दर्जनभन्दा बढी किसानले टनेल घर बनाएर गोलभेंडा सहित विभिन्न तरकारी खेती गरेका छन् ।

आफ्नै गाउँमा घरपरिवारको साथ सहयोगमा कृषि पेशा अँगाल्न पाउँदा विदेशमा भन्दा नेपालमै सन्तुष्ट रहेको राजारानीका किसान डम्बरबहादुर राई बताउँछन् । ‘परिवारसँग दुःखसुखमा सँगै बस्न पाइन्छ । मिठो मसिनो जस्तो भए पनि सँगै खान पाइन्छ । त्यसैले यही पेशामा सन्तुष्ट छु’, राई भन्छन् ।

विशेषगरी सिँचाइ सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलो हुन्छ । यस प्रविधिबाट खेती गर्दा बढी मिहिनेत कम पर्ने, रोग तथा कीराको प्रकोप पनि कम हुने र उत्पादन लागत पनि घट्ने प्राविधिक बताउँछन् ।

विदेशबाट कमाएर ल्याएको पैसा कृषिमै खर्च गर्ने गरेको चौबिसे गाउँपालिकाका कृषि प्राविधिक वीरेन्द्र तामाङ बताउँछन् । टनेल घरमा गरिएको उत्पादन बाहिरी क्षेत्रमा गरिएको भन्दा बढी गुणस्तर हुने र बजार पनि सहजै पाउने भएकाले गर्दा टनेल घर बनाएर खेती शुरु गरेको किसानको भनाइ छ । थोरै लगानी गरेर राम्रो आम्दानी लिन सकिने भएकाले यो खेतीतर्फको आकर्षण बढ्दो छ ।