इटहरी / पटक–पटक प्रहरीले होटलमा छापा मारेर आतंक सिर्जना गरेको भन्दै इटहरीका होटल व्यवसायीले प्रहरीसमक्ष गुनासो पोखेका छन् । प्रहरी मर्यादित भएर व्यवसायीसमक्ष प्रस्तुत भए मुलुकको कानुन नमान्ने कुरै नहुने उनीहरूको भनाइ थियो । शुुक्रबार होटल त्रियुगामा भएको सर्वपक्षीय भेलामा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायीले यस्तो तर्क गरेका हुन् ।
इटहरी होटल व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा इटहरी प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ, नगर प्रमुख द्वारिकलाल चौधरी, प्रदेश सांसद लीलम बस्नेत लगायतको उपस्थिति रहेको थियो । नयाँ प्रहरी प्रमुख आएसँगै इटहरीमा सञ्चालनमा आएका होटललाई ‘टार्गेट’ गरी भएको खानतलासीले ग्राहकमा गलत सन्देश गएको भन्दै प्रहरीले सच्चिनुुपर्ने होटल व्यवसायी महासंघका प्रदेश एकका अध्यक्ष मणिन्द्र कटुवालले बताए ।
यदि होटलमा कानुनविपरीत कार्य भए व्यवसायी नै प्रहरीलाई सहयोग गर्न तयार रहेको उनले बताए । ‘हामीलाई अप्ठ्यारो पर्दा चाहिने प्रहरी प्रशासन नै हो, तर होटलका ग्राहकको सबै विवरण चुस्तदुरुस्त राख्दा भएका सबै कोठा खोल्नैपर्ने बाध्यता प्रहरीले किन सिर्जना गरिरहेको छ ?’ उनले प्रश्न गरे ।
अर्का व्यवसायी तेज पुुरीले व्यवसायीसँग प्रहरीको सम्बन्ध प्रगाढ हुनुपर्नेमा दूरी बढिरहेको महुसस भएको बताए । उनले विश्वासको वातावरण बनाउनुपर्ने भन्दै सबै व्यवसायी प्रहरीलाई सहयोग गर्न तत्पर रहेको बताए ।
व्यवसायी सुनिल भुसालले होटललाई प्रविधिमैत्री बनाउन आग्रह गरे । समयअनुकूल व्यवसायी परिमार्जित हुनुपर्ने तर्क गर्दै भुसालले भने, ‘हामी आएका पाहुुनाको डिटेल प्रहरीले ‘एक्सेस’ पाउने गरी राखौं, प्रहरी पनि सो डिटेल कार्यालयमा बसेर हेरोस् अनावश्यक रुममा आएर दुःख दिने परिपाटीको अन्त्य होस् ।’
वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले बढ्दो शहरीकरणसँगै शहरभित्र समस्या पनि आउने भन्दै त्यसलाई सबै मिलेर समाधान गर्नुुपर्ने बताए । व्यवसायीहरूको समस्याको बारेमा उपमहानगरपालिका गम्भीर भएको भन्दै रात्रिकालीन बजार लगाउने विषय नगरको नीतिमा नै स्पष्ट रूपमा आएको र नगर व्यवसायमैत्री भएको जानकारी दिए । यसअघि पनि व्यवसायी, प्रहरी र उपमहानगरबीच भएको त्रिपक्षीय छलफलमा राति १० बजेसम्म मदिराजन्य पदार्थ बिक्री गर्ने र चौबिसै घण्टा खाद्यपदार्थ बेच्ने सहमति जुुटेको उनले बताए ।
नगर प्रमुख द्वारिकलाल चौधरीले स्थानीय सरकार सञ्चालनका क्रममा कतिपय कानुन अझै बनाउन नसकिएको भन्दै नगरभित्रको व्यवसाय सञ्चालन गर्ने वातावरणलाई सधँै सहयोगी दृष्टिले हेरिने र सोहीअनुरूप व्यवहार गरिने बताए । प्रहरीले शान्तिसुरक्षाका लागि जिम्मेवारीपूर्ण ढंगले भूमिका खेल्नुुपर्ने बताउँदै त्यसका लागि जनप्रतिनिधिले जिम्मेवारीपूर्वक नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सांसद लीलम बस्नेतले होटलमा प्रहरी आउनु नपर्ने वातावरण सिर्जना गर्न व्यवसायीसँग आग्रह गरे । ‘कतिपय अवस्थामा प्रहरीको व्यवहारले व्यवसायीलाई आजित गरेको छ,’ उनले भने, ‘समयअनुसार प्रहरी पनि बदलिनुु पर्छ, कानुनसम्मत व्यवसाय सञ्चालन गर्ने जो कोहीलाई समान भावले हेर्दै दुःख दिने बानी हटाउनुपर्छ ।’
इटहरी प्रहरी प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले आफ्नो उद्देश्य व्यवसायीलाई दुःख दिने हुँदै नभएको बताए । उनले शंकास्पद व्यक्ति होटलमा रहेको भन्ने जानकारी आउँदा प्रहरीले खोजी गर्नुपर्ने दायित्व रहेको भन्दै यसलाई गलत रूपमा नबुुझ्न आग्रह गरे ।
आउने दिनमा प्रहरीलाई नयां ढंगले परिचालन गर्ने भन्दै शंकास्पद व्यक्ति आफ्नो होटलमा आए प्रहरीलाई सूचना दिएर सहयोग गर्न डिएसपी श्रेष्ठले आग्रह गरे ।
इटहरी होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले कर तिरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई आतंकित पार्ने काम राम्रो नभएको भन्दै गलत कार्य गर्नेलाई आफू पनि छाड्न नहुने पक्षमा रहेको बताए । प्रहरीसँग मिलेर जाने भन्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।
कानुनले बन्देज लगाएको अवस्थाबाहेक संविधान र कानुनको परिधिमा रहेर सर्वसाधारण होटलमा बस्न पाउने र व्यवसायीले पनि व्यवसाय सञ्चालन गर्न पाउने तर्क गर्दै उनले भने, ‘एक÷दुुई जना व्यवसायीले गलत कार्य गरे भन्दैमा सबैलाई एउटै डालोमा राखेर हेर्ने काम राम्रो होइन । गलत गर्नेलाई नछाडौं । मर्यादित भएर व्यवसाय गर्नेलाई आतंकित पनि नपारौं ।’