विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले दहेज प्रथा कानुनी अपराध भएको बताएका छन् ।
दाइजोविरुद्धको १० दिने अभियानअन्तर्गत विराटनगरमा इस्लामी सङ्घ नेपालद्वारा आयोजित ‘दाइजो प्रथा, समाजमा यसको प्रभाव तथा कारण र निवारण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले दाइजोको विरुद्धमा महिला नै अघि सर्नुपर्ने बताए ।
प्रदेश प्रमुख तुम्बाहाङले समाजमा विकृतिको रूपमा विकसित हुँदै गएको दहेज प्रथालाई रोक्न शिक्षा र सचेतना कार्यक्रम आवश्यक भएको बताए । छोराछोरीलाई समान रूपमा हेर्ने दृष्टिकोण बनाए मात्रै दहेज प्रथा अन्त्य भई महिला हिंसाका घटनामा कमी आउने उनको भनाइ थियो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुसलमान समुदायमा दहेज प्रथा चल्नु इस्लाम धर्मको विरुद्धमा भएको बताए । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले दहेज लिने र दिने दुवै काम रोक्नुपर्ने बताए ।
प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले छोरी पढाउ र छोरी बचाउ अभियानले दहेज प्रथालाई केही हदसम्म नियन्त्रण गर्ने धारणा राखेका थिए ।
आयोजक सङ्घ प्रदेश नं १ का अध्यक्ष मौलाना जुल्फकर अलीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम अगुवा रिजवान अन्सारी, मौलाना गुलाम रसुलले इस्लाम धर्ममा दहेज लिनु भनेको पाप गर्नु सरह भएकाले दहेज प्रथा धार्मिक दृष्टिले पनि पापपूर्ण काम भएको बताए ।