विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्ववियुले लगाएको ताला खुलेको छ ।

क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै क्याम्पसको प्रशासन कक्षमा स्वतन्त्र विद्यार्थी युनियनले आइतबार तालाबन्दी गरेको थियो । पुस ६ गते विभिन्न माग राख्दै क्याम्पस प्रमुखलाई स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको थियो । मागको सम्बोधनका लागि १ हप्ताको अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाए पनि स्ववियुले आइतबार नै तालाबन्दी गरेको थियो ।

ब्याडमिन्टनको कोर्ट निर्माण गर्नुपर्ने, खेलकुद ग्राउन्डको स्तरोन्नति गर्नुपर्ने, पाठयपुस्तक उपल्बध गराउनुपर्ने, क्यामपस सहायता कक्ष हेल्प डेस्क सञ्चालन गर्नुपर्ने लगायतका माग राख्दै स्ववियुले ताला लगाएको थियो ।

क्याम्पस सञ्चालक समिति र आन्दोलनरत विद्यार्थीबीच भएको वार्तामा सहमति जुटेपछि ताला खोलिएको स्ववियु उपसभापति मिलन घिमिरेले बताए । पुस मसान्तभित्र निर्माणका काम थालिने र पाठयपुस्तक समयमै ल्याउने सहमति भएको घिमिरेले बताए ।

विद्यार्थी सङ्गठनको जुहारी
एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्ववियुले उठाएका मुद्दा जायज भएको भन्दै क्याम्पसले चाँडै माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियो । यता, नेवि सङ्घले भने क्याम्पसमा ताला लगाएर विद्यार्थीको पठनपाठनमा असर पु¥याएको भन्दै तालाबन्दीको विरोध गरेको थियो ।