इटहरीः ऋणीलाई दिएको कर्जा उठाउन नसकेपछि बैँक तथा वित्तीय संस्थाहरु ऋण असुली प्राधिकरण गुहार्न थालेका छन् ।
आर्थिक संकट उत्पन्न भएको समयमा ऋण असुली कम भएपछि एनआईसि एसिया बैँकले ऋणीको घरमै सुरक्षा गार्ड राख्ने देखि लिएर गुण्डा परिचालन गर्ने सम्मका काम गर्दै आइरहेको छ ।
एनआईसिले कम्पनी रजिष्ट्रारमा ऋण नतिर्नेका सबै बाटा थुनिदिनु पर्यो भन्दै पत्र बोकेर पुगेको कुरा समेत बाहिर आउन थालेका छन् । पछिल्लो समय एनआइसी एसिया बैंक ऋण असुली नभएपछि ऋण असुली न्यायाधिकरण पुगेको छ बँैकले ऋण असुली न्याधिकरणमा हालसम्म ६७ वटा मुद्धा दायर गरीसकेको छ ।
बैंकले गत साउन महिनादेखि चैत २८ गतेसम्म ५१ करोड ८ लाख ८६ हजार ९७८ रुपैयाँ असुलीको लागी गुहार माग्दै यो संख्यामा मुद्दा दायर गरेको हो ।
चालु आवको चैत २८ गतेसम्म मात्रै न्यायाधिकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका जम्मा १९९ वटा मुद्दा परेका छन् । यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३ अर्ब १८ करोड ७४ लाख १७ हजार रुपैयाँ भन्दा बढीको मागवादी सहित मुद्दा दायर भएको हो ।
यस अवधिमा ऋण उठाउन नसकेको भन्दै ऋण असुली न्यायाधिकरणमा १८ वटा वाणिज्य बैंक र तीन वटा विकास बैंकले मुद्दा दर्ता गराएका छन् । जसमा मेगा बैँकको नाममा मात्रै सात वटा मुद्दा परेका छन् । सो बैंकले २७ करोड ६० लाख १२ हजार ७४७ रुपैयाँ मागवादी सहित मुद्दा दायर गरेको हो । मेगा अहिले नेपाल इन्भेष्टमेन्ट र पछि नेपाल इन्भेष्टमेन्ट हिमालयन बैँकमा मर्ज भइ कारोबार सुरु गरिसकेको छ ।
त्यस्तै, एनएमबी बैंकले यस अवधिमा २० वटा मुद्दा दायर गरेको छ । प्राइम कमर्शियल बैंकले १ करोड १७ लाख ८२ हजार रुपैयाँको मागवादी सहित २ वटा र ग्लोबल आईएमई बैंकले १८ करोड ४१ लख ५२ हजार रुपैयाँ मागवादी गर्दै २३ वटा मुद्दा दायर गरेको छ । माछापुच्छ्रे बैंकले ८७ लाख १० हजार रुपैयाँ मागवादी सहित ४ वटा, सिद्धार्थ बैंकले २ करोड ३ लाख ३ हजार रुपैयाँ मागवादी गर्दै ८ वटा र बैंक अफ काठमाण्डु (हाल ग्लोबल आईएमईसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) बैंकले ४ करोड १९ लाख ६२ हजार रुपैयाँ माग दाबी गरी ५ वटा मुद्दा दायर गरेको छ ।
नबिल बैंकले १३ करोड २२ लाख ७० हजार रुपैयाँ मागवादी गर्दै ६ वटा, सनराइज बैंकले १२ लाख ७७ हजार रुपैयाँको मागवादीसहित एउटा र हिमालयन बैंकले ३० लाख २९ हजार रुपैयाँ मागवादी गर्दै एउटा मुद्दा दायर गरेका हुन् ।
त्यसैगरी, ऋण उठाउन नसकेपछि चालु आवको यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले ३ करोड ४१ लख १६ हजार रुपैयाँको मागवादी गर्दै ३ वटा, लक्ष्मी बैंकले २ करोड २५ लाख ४६ हजार रुपैयाँको मागवादी गर्दै ४ वटा, सानिमा बैंकले ४९ लाख १६ हजार रुपैयाँको मागवादी गर्दै २ वटा, राष्ट्रिय वाणिज्य बैंकले ३३ लाख ७७ हजार रुपैयाँको मागवादी सहित २ वटा र नेपाल एसबीआई बैकले २२ लाख ८० हजार रुपैयाँको मागवादी गर्दै एउटा मुद्दा दायर गरेको न्यायाधिकरण जनाएको छ । यता ख बर्गका विकास बँैकहरुले समेत १७ वटा मुद्धा दायर गरेका छन् ।
चालु आवको चैत २८ गतेसम्म परेका मुद्दामध्ये पाँच वटा वाणिज्य बैंकहरुको १२ वटा मुद्दामा निर्णय गरेको छ । न्यायाधीकणले एनआईसी एसिया बैंकको ६९ लाख १३ हजार रुपैयाँ बराबरको दुई वटा मुद्दाको निर्णय गरेको छ ।
त्यस्तै, मुद्दा हालेको एनएमबी बैंकको १ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको चार वटा, ग्लोबल आईएमई बैंकको २ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको चार वटा, माछापुच्छ्रे बैंकको १७ लाख ३ हजार रुपैयाँ बराबरको एउटा र सिद्धार्थ बैंकको २२ लाख ५२ हजार रुपैयाँ बराबरको एउटा मुद्दाको निर्णय भएको न्यायाधिकरण जनाएको छ ।
ऋण असुली न्यायाधिकरणमा हालसम्म ऋण उठाउन भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाको ३२० वटा मुद्दा परेका छन् । जसमध्ये फागुन महिनासम्म २२ वटा मुद्दाको निर्णय भएको छ भने २९८ वटा मुद्दा निर्णय हुन बाँकी रहेका छन् ।
हालसम्म न्यायाधिकरण ३४ अर्ब १० करोड ८८ लाख ६० हजार रुपैयाँ बराबरको ऋण असुली गरेको छ । यो वर्ष मात्रै न्यायाधिकरण ६८ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको ऋण असुली गरेको प्राधिकरण बताउँछ ।