इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आउन ६ महिना बाँकी रहँदै आन्तरिक कसरत शुरु भएको छ । सङ्घको नेतृत्वमा दाबी गर्नेहरू आआफ्नो पक्षका नेताहरूसँग लाइन मिलाउन लागि परेका छन् । हालको संस्थापन पक्षीय नेताहरू नेकपाका स्थानीय नेताहरूसँगको भेटघाटमा व्यस्त देखिन थालेका छन् ।

हालका अध्यक्ष रहेका लीलम बस्नेत प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै कार्यवाहकको नेतृत्वमा उद्योग वाणिज्य सङ्घ चलिरहेको छ । रात्रिबजार सञ्चालन गर्नेदेखि घरबहाल कर व्यवस्थापन गर्ने नारा लिएर चुनाव जितेको वामपन्थी पक्षले पूरै कार्यकालमा रात्रिबजार र घरबहालको विषयमा कुनै काम गर्न नसकेको भन्दै टिप्पणी शुरु हुन थालेका छन् ।

त्यसैले पनि नेकपाभित्र नयाँ चुनावी रणनीति र नेतृत्वको विषयमा बहस र छलफल बाक्लिन थालेको हो । नेकपाको स्थानीय नेतृत्वमा सङ्घमा कसलाई उम्मेद्वार बनाउने भन्ने बारेमा आन्तरिक तयारी पनि शुरु भएको छ ।

हालका कार्यवाहक अध्यक्ष शैलेस बिष्टलाई वामपन्थी पक्षको अध्यक्षको उम्मेद्वारको रूपमा हेरिएको छ । तर उनीसँगै उमेश पौडेलले पनि पार्टी पङ्क्तिमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । जसले गर्दा बिष्ट समस्यामा देखिन्छन् ।

सङ्घको निर्वाचन उद्योगी र व्यापारीको भएकाले यसमा पार्टीको कुनै संलग्नता नहुने तर्क बिष्टको छ । तर उनी आफैँ पार्टीको गोप्य बैठकमा सहभागी भइरहेका छन् । ‘यो कुनै पार्टीगत निर्वाचन होइन,’ उनी भन्छन्, ‘पार्टीभन्दा माथि उठेर व्यापारीको हितमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको छ ।’ त्यसैले आफूले पार्टीगतभन्दा पनि व्यवसायगत रूपमा उम्मेद्वार हुने निर्णय गरेको उनको भनाइ छ ।

उता, अर्का आकाङ्क्षी उमेश पौडेल आफू महासचिव र उपाध्यक्षसमेत भइसकेको र लामो समय इटहरीका व्यापारी व्यवसायीमाझ परिचित भएकाले आफू अध्यक्ष हुनुपर्ने तर्क गर्छन् । ‘साथीभाइहरूले उम्मेद्वार हुनुपर्छ भन्नुभएकाले मैले इच्छा व्यक्त गरेको हुँ’, उनी भन्छन् ।

आफ्नो उम्मेद्वारीको विषयमा पछि स्पष्ट पार्ने भन्दै उनले नेतृत्वको लागि आफू आकाङ्क्षी भएको बताए । उद्योग वाणिज्य सङ्घले हालसम्म गरेका र अब गर्नुपर्ने जिम्मेवारीको विषयमा आफू जानकार रहेकाले उम्मेद्वारी दाबी गरेको उनको भनाइ छ ।

सङ्घको संस्थापनइतर पक्ष मानिएको लोकतान्त्रिक खेमामा पनि हालको नेतृत्वको समीक्षा र भावी नेतृत्वको विषयमा चर्चा शुरु भएको छ । लोकतान्त्रिक पक्षको बोलवाला रहेको इटहरीमा वर्तमान नेतृत्व भने वामपन्थीले कब्जा गरेको थियो । चुनावी नतिजाको समीक्षा गर्दै लोकतान्त्रिक पक्षले आन्तर्घातका कारण चुनाव हारेको निष्कर्ष निकाल्यो । हरेक समीक्षामा अन्तर्घात भयो भनिए पनि कसले अन्तर्घात ग¥यो भन्ने बारेमा कसैले मुख खोल्न सकेनन् ।

निर्वाचनमा विजयी भएको वामपन्थीले आफ्ना मान्छेमात्र व्यवस्थापन गरेको भन्दै संस्थापनइतर पक्षले विरोध जनायो । तर विरोधको स्वर बाहिरसम्म आउन सकेन । जसको फलस्वरूप नेतृत्व आफ्नै तरिकाले अगाडि बढिरह्यो ।

लोकतान्त्रिकमा पोखरेलको चर्चा
हाल लोकतान्त्रिक प्यानलको तर्फबाट दिवस पोखरेलको चर्चा बढ्न थालेको छ । उनी आफ्नो पक्षका नेता तथा कार्यकर्तासँग नियमित छलफल र परामर्शमा लागेका छन् । आफू एक्लैले भन्दा पनि समग्र व्यवसायीले नेतृत्व चयन गर्ने भएकाले व्यवसायीहरूसँगको छलफल आवश्यक रहेको उनको भनाइ छ । हालको नेतृत्व एकदमै प्रचारबाजी गर्ने तर काम नगर्ने देखिएकाले त्यसलाई सच्याउन पनि आफ्नो उम्मेद्वारी रहेको उनको तर्क छ ।

‘उद्योग वाणिज्य सङ्घको हालको नेतृत्वले साथीहरूलाई हटाउन सकेको छैन,’ उनले भने, ‘त्यसैले पनि नयाँ ऊर्जा र जाँगर भएको नेतृत्व आवश्यक महसुस भएको छ । त्यो मैले होइन सम्पूर्ण व्यवसायीले महसुस गरेको कुरा हो ।’

अघिल्लो कार्यकालमा महासचिवको भएका उनी अब आफू अध्यक्ष नै भएर रचनात्मक नेतृत्व गर्ने दाबी गर्छन् । हाल पनि आफूमाझ धेरै व्यापारीहरू आएर यो नेतृत्वले काम गरेन भन्दै आलोचना गर्ने गरेको उनको भनाइ छ ।
पोखरेल मात्र होइन अघिल्लो निर्वाचनमा सार्वाधिक मतका साथ विजयी भएका भीम पौडेल पनि लोकतान्त्रिक खेमाबाट अध्यक्षको उम्मेद्वारको रूपमा देखिएका छन् ।
आफू सर्वाधिक मतका साथ विजयी भएको र व्यापारीको समस्या पहिचान गर्न सक्ने भएका कारण उम्मेद्वारी दाबी गरेको उनको भनाइ छ । तर टिममा छलफल भएपछि मात्र यस विषयमा थप बोल्न सकिने उनले बताए ।

पौडेल नेपाली काङ्ग्रेसका स्थानीय नेताहरूमाझ लबिङ गरिरहेका छन् । उनी यसअघिका अध्यक्ष रोहित प्रसाईंदेखि नेपाली काङ्ग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलसम्म लाइन मिलाउन व्यस्त छन् । उनी बाहिर बोलेर भन्दा पनि भित्री रूपमा सेटिङ गरेरै उम्मेद्वारी हात पार्ने ध्याउन्नमा लागेको बुझिन्छ ।
उता, पोखरेलले यसअघिको निर्वाचनदेखि नै आगामी नेतृत्वको लागि आफूलाई अगाडि बढाइरहेका थिए । त्यसैले पोखरेलले पनि आफ्नो तयारीलाई कुटनीतिक रूपमा अगाडि बढाइरहेका छन् ।