ओखलढुङ्गाः राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई पितृशोक परेको छ ।
उनका पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा आफ्नै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा बिहीबार राति १ बजे मृत्यु भएको हो ।
विगत केही वर्षदेखि मष्तिष्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगबाट राई पीडित थिए । केही दिन यतादेखि अलि असहज महसुस गर्दै आएका उनको शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको छोरा व्याकुल माइलाले बताए ।
वि.सं २००४ साल असोजमा जन्मिएका राई २० वर्षसम्म अध्यापन गरेर सेवानिवृत्त भएपछि सामाजिक सेवामा संलग्न थिए । आदर्श र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व. राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए ।
स्व. राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।