झापाः झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्ण रूपमा नष्ट भएका छन् ।

६० बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजे शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र बिर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

स्थानीय छविलाल आङ्देम्बेको घरमा बालिएको मैनबत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरीले जनाएको छ ।

आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको बताइएको छ । मेचीनगरमा एउटा मात्र दमकल भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली आज बिहानै घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।