उदयपुरः उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अवैध काठसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले त्रियुगा नगरपालिका– ५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीलाबहादुर ग्रञ्जा मगरलाई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी जागेश्वर साहका अनुसार मगरलाई डिभिजन वन कार्यालयले अवैध सालको गोलिया र ट्याक्टरसहित पक्राउ गरेको हो। 

उनले भने, ‘स्थानीयले दिएको सूचनाको आधारमा पाँच थान गोलियाको ४० दशमलव १६ क्युबिक फिट साल जातको काठसहित स।१त ७०४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ।’

त्रियुगा – ५ दमौतीको कोरिया खोलाबाट आइतबार ११ बजे अवैध कटान भइरहेको सूचनाको आधारमा समूहका अध्यक्ष र काठ ढुवानी गर्न प्रयोग भएको ट्याक्टरलाई वन कर्मचारीको टोलीले पक्राउ गरेर कानुनी प्रक्रिया सुरु गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी साहको भनाइ छ।

अध्यक्ष मगरलाई वन पैदावार हानि–नोक्सानी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।