मोरङः विराटनगरमा शनिबार पहिचानवादी र सुरक्षाकर्मीबीच झडप भएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका लिम्बूवान भोलेन्टियर्सका नेता पदम लिम्बू लाजेहाङको शवयात्राका क्रममा विराटनगरको रोडशेष चोकमा झडप भएको हो । यसक्रममा सुरक्षाकर्मीले दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सरकारले शहीद घोषणा गरेका पदम लिम्बू लाजेहाङको अन्त्येष्टि पूर्व पहिचानवादीले शनिबार धरान, इटहरी हुंदै प्रदेश राजधानी विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने कार्यक्रम तय थियो । शवयात्रा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लैजान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका थिए । 

Photo (7) (1)

गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश नामाकरण विरुद्धको प्रदर्शनका क्रममा पदम घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत चैत १० गते निधन भएको थियो । लिम्बूको आजै मोरङको बेलबारीमा अन्त्येष्टि गरिदै छ ।