झापाः नेपाल विद्यार्थी सङ्घ झापाको १२ औं अधिवेशनबाट राजेन्द्र उप्रेती अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न अधिवेशनमा उनी अत्यधिक बहुमतका साथ विजयी भएका हुन् ।

प्रतिद्वन्द्वी ईश्वरी न्यौपानेलाई भारी मतान्तरले पाराजित गर्दै उनी निर्वाचित भएको अधिवेशनका केन्द्रीय प्रतिनिधि कृष्ण कार्कीले जानकारी दिए । उनका अनुसार खसेको ५ सय ३४ मत मध्ये उप्रेतीको पक्षमा ४ सय ४९ र नौपानेको पक्षमा ६४ मत खसेको थियो । २१ मत बदर भएको थियो ।

यज्ञलक्ष्मी चौलागाईंको संयोजकत्वमा इन्दू पूर्वेली र नेत्र खरेल सम्मिलित निर्वाचन समितिले उप्रेती विजयी भएको घोषणा गरेको थियो । उप्रेतीको नेतृत्वको टिममा नारायण नेपाल सचिव, नवराज ढकाल कोषाध्यक्ष रहेका छन् । १७ सदस्यीय समिति बनेको निर्वाचन संयोजक चौलागाईंले बताए ।

असन्तुष्टको भेलाले चुन्यो बुढाथोकीलाई
निर्वाचन भएको केही समय नबित्दै अर्को असन्तुष्ट समूहको भेलाले भुवन बुढाथोकीको सभापतित्वमा नयाँ कार्यसमिति बिस्तार गरेको छ । एकपक्षीय ढङ्गले पेलेर अधिवेशन गराइएको भन्दै नयाँ कार्यसमिति गठन गरेको बुढाथोकीको भनाइ छ ।

निर्वाचित कमिटी नै वैधानिक
उता, नेपाली काङ्ग्रेस झापा सभापति उद्धव थापा भने निर्वाचित कमिटी नै वैधानिक भएको बताउँछन् । पहिल्यै सहमतिको प्रयास भएको तर सहमति हुन नसकेपछि निर्वाचन गरिएको उनको भनाइ छ ।

लोकतान्त्रिक प्रक्रियाअनुसार बनेको कमिटीलाई कसैले मान्दिनँ भन्छ भने त्यो लोकतन्त्र विरोधी भएको उनको तर्क छ । निर्वाचन प्रक्रियाबाट भागेर कुनै गोप्य स्थानमा बसेर कमिटी बनाउँदै फेसबुकमा हाल्नु गलत भएको उनले बताए ।

nsu jhapa