इटहरीः नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेको भन्दै उद्योगी तथा व्यापारी आन्दोलित बनेका छन् । विना जानकारी विद्युत कटौती हुनेगरेको भन्दै  सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलनमा उत्रिएका हुन । 

विद्युत नियमित आपूर्ती माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्थाहरुले आइतबार नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिडमा धर्ना दिएका थिए । 

नियमित विजुली दिन नसके लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका छन् ।

विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको उद्योगीहरुले बताएका छन ।  त्यस बाहेक पनि अन्य समयमा पनि विद्युत कटौती हुने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् ।

उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।