इटहरीः  स्थानीय सरकार धरान सिमा प्रारम्भ लेखिएको सिमाको बोर्ड धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले इटहरीको तरहरा नजिकै पानीपियामा राखेपछि सर्वत्र चर्चाको विषय बनेको छ । 

साम्पाङ्गले आइतबार मात्रै सिमाना बोर्ड पानीपियामा राखेपछि त्यसको विरोध सुरु भएको हो ।  आफ्नो साँध सिमाना सुनिश्चित गर्नु नगरसरकारको दायित्व भएको भन्दै साम्पाङ्गले सिमा बोर्ड राखेका थिए । आइतबार राती नै  तरहरा मास्तिर पानीपियामाको सिमानामा लगाए बोर्ड  युवा संघका युवाहरूले सीमा मिचेर बोर्ड लगाएको भन्दै उखेलेर इटहरी उपमहानगरपालिकालाई जिम्मा लगाएका छन्  । 

आइतबार धरान उपमहानगरपालिकाको नगर प्रहरीले इटहरी २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड  रातारात युवा संघ इटहरीले उखेलेका हुन्। एमाले सम्बद्ध युवा सङ्घमा आबद्ध युवाहरूले मध्यरातमा उखेलेर  बोर्ड इटहरी उपमहानगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका छन्।

342371187_179415665030163_8071356798286725883_n

युवा संघले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने भए पनि धरानले एकलौटी ढङ्गले बोर्ड राखेपछि आफूहरूले उखेलेको दाबी गरेको बताएका छन् । यो क्षेत्र भने इटहरी वडा नं २० मा पर्ने युवा संघको दावी छ  । इटहरी र धरान छुट्टाउने सिमानाबारे भने यसअघि पनि विवाद थियो । तर, साउती पुलले नै दुवै स्थानीय तहको सिमाना छुट्टाउँदै आएको छ ।

यता युवा संघले गरेको कार्यको विरोध गर्दै मेयर साम्पाङ्गले कानुनी कारवाही अगाडी बढ्ने चेतावनी दिएका छन् ।  मेयर हर्कले आफ्नो सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेका छन “धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्दा युवा संघले बोर्ड निकाल्नु पर्ने किन र कुन हैसियतले त्यो गरेको हो ? अब कानुनी करवाही अघि बढ्छ !”