झापाः झापाको मेचीनगरका अग्निपीडितहरूलाई नगरका राजनीतिक दल र विभिन्न सामाजिक सङ्घ संस्थाहरूले राहत सामग्री प्रदान गरेका छन् ।बिहीबार साँझ मेचीनगर–६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा भएको आगलागीबाट पीडित २० घरपरिवारलाई शुक्रबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पहिलो राहत सामग्री वितरण गरेको छ । सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालको नेतृत्वमा राहत सामग्री लिएर आएको टोलीले अग्निपीडितहरूलाई त्रिपाल लत्ताकपडा, भाँडा वर्तनलगायतका सामग्री प्रदान गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले राहत सामग्री वितरण गरेका थिए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार गस्ती सुरक्षा ८ झापा नम्बर गुल्म काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेलगायतले ती सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले अग्नि पीडितका लागि उपलब्ध गराउने राहत सम्बन्धित वडा कार्यालयको सिफारिशमा वितरण गर्ने बताए । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले घटनाका बारेमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराएको र प्रदेश सरकारले गर्ने सहयोगमा कुनै कमी आउन नदिने जानकारी दिए ।
नगरपालिकाले पनि अग्निपीडितका लागि प्रक्रिया पु¥याएर राहत उपलब्ध गराउने नगरप्रमुख विमल आचार्यले प्रष्ट पारे । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी झापा अध्यक्ष लोकराज ढकालले गरेका थिए ।

जिल्ला प्रशासनले गर्यो नगद सहयोग
जिल्ला प्रशासन कार्यालय झापाले पनि शुक्रबार राहत वितरण गरेको छ । पूर्ण रूपमा जलेका छाप्राधनीलाई नगद १० हजार र आंशिक जलेकालाई ५ हजार राहत वितरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

नेकपा नगर कमिटीले पनि ग¥यो सहयोग
यसैगरी, नेकपा मेचीनगरले शुक्रबार राहत रकम वितरण गरेको छ । पार्टीले आगोका कारण पूरै घर जल्ने परिवारलाई नगद १० हजार तथा भाडामा बस्ने परिवारलाई नगद ५ हजारका दरले राहत सामग्री प्रदान गरेको जनाएको छ । जसमा १६ घरलाई जनही १० हजारका दरले १ लाख ६० हजार र ४ घरलाई ५ हजारका दरले २० हजार गरी जम्मा १ लाख ८० हजार रकम हस्तान्तरण गरेको छ ।
यसैगरी नेकपाकै नेतृत्वमा काँकरभिट्टा बजारमा सङ्कलित ४७ हजार नगद, २० बोरा चामल र २ बोरा लत्ता कपडासमेत अग्निपीडितलाई दिइएको छ ।

आगलागीमा २३ वटा छाप्रा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए । काँकरभिट्टा बधशाला नजिकको एउटा घरको खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा भएको आगलागीबाट २३ वटा घर जलेको प्रहरीको भनाइ छ । अधिकांश आगलागीपीडित आफन्तकोमा आश्रय लिएर बसेका छन् । केही भने पाल टाँगेर बसिरहेका छन् ।