इटहरीः इटहरी उपमहानगरपालिकाले पुराना तर नक्सा पास भइनसकेका घरको नक्सा पास खोलेपछि अभिलेखिकरण गर्ने लहर नै चलेको छ । 

चालु आर्थिक बर्षको भदौदेखि इटहरी उपमहानगरले नक्सा पास भइनसकेका पुराना घरलाई सय प्रतिशत जरिवानामै मापदण्ड हेरेर पास गरिदिने भनेपछि अभिलेखिकरणको लहर चलेको हो । 

यस भन्दा पहिले नगरपालिकाले तीन सय प्रतिशत जरिवाना लिएर नक्सा पास गरिदिने गरेकोमा अहिले भने सय प्रतिशत जरिवानामै अभिलेखिकरण सुरु गरेको हो । 

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म ७०६ वटा घरको निर्माण सम्पन्न प्रमाणपत्र दिएको उपमहानगरले ८५७ वटा घरको अभिलेखिकरण दर्ता गरेको छ । 

उपमहानगरले गत असोज ५ गते सुचना प्रकाशन गर्दै अभिलेखिकरण दर्ता खोलेको थियो । चालु आर्थिक बर्षको मंसिरसम्म जम्मा ७१ वटा घर अभिलेखिकरण भएकालेमा पौषमा ७२, माघमा १३०, फागुनमा १४७ र चैत्रमा ४३७ वटा घर अभिलेखिकरण भएका छन् । 

नगरपालिकाले चालु आर्थिक बर्षको चैत्र सम्ममा २ हजार ३४ वटा घर नक्सा सम्बन्धि काम गरेको छ । भने यसबाट ४ करोड ३५ लाख १८ हजार ७५४ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्षको चैत्र ११ गतेसम्ममा नगरपालिकाले घर नक्सा पास दस्तुर अन्तर्गत ४ करोड ३७ लाख ६६ हजार ४१० रुपैँया राजश्व संकलन गरेको थियो । चालु आर्थिक बर्षमा एक हजार स्क्वायर फिट सम्मको घर नक्सा निः शुल्क पास गर्ने नियमावलीका कारण राजश्वमा कमी आएको नगरपालिकाको घर नक्सा फाँटका इन्जिनियर कैलास तिम्सिना बताउँछन् । 

सय प्रतिशत जरिवानामै घरनक्सा पास गर्न सकिने भएपछि पुराना घरको अभिलेखिकरण गर्ने कार्य बढेको तिम्सिनाको भनाई छ । नगरपालिकाले नगरबासीहरुलाइ मापदण्डमा बनेपछि नक्सा पास गर्न छुटेका घरको अभिलेखिकरण बैशाख मसान्तसम्म खुल्ला गरेको छ ।