धनकुटाः धनकुटाको उच्च पहाडी भेगमा आज एक्कासी हिमपात भएको छ । हिमपातका कारण चिसो बढ्नाले जनजीवन प्रभावित बनेको छ । धनकुटा–१ निगालेदेखि हिले जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको छ । हिउँले ढाकिएका ती डाँडाहरू सेताम्मे भएका छन् ।

खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् । जसका कारण त्यस क्षेत्रमा हिउँमा खेल्ने आन्तरिक पर्यटकहरूको भीड देखिएको छ । शुक्रबार दिउँसोदेखि त्यस क्षेत्रमा हिँउ परेको सिँधुवाका स्थानीय दिवेश खड्काले बताए ।

धनकुटा सदरमुकामदेखि माथि हिले डाँडामा २०५७ सालयता पहिल्लो पल्ट हिउँ परेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समय हिउँ पर्न छाडेर तुसारो मात्रै पर्ने गथ्र्यो । तर अहिले १८ वर्षपछि हिउँ परेको स्थानीय अच्युत घिमिरेले बताए । हिले बजारमा हिमपातपछि अत्यधिक चिसो बढेको छ । चिसोका बाबजुद पनि हिउँमा खेल्न आउनेको भीड लागेको छ ।

त्यस्तै सिँधुवामा पनि १५ वर्षपछि हिउँ परेको खड्काले बताए । उनका अनुसार २०६० साल यता यस क्षेत्रमा हिउँ परेको थिएन । अहिले हिउँ परेपछि यस क्षेत्रमा मानिसको आवतजावत बाक्लिएको छ । धरान, धनकुटादेखि मानिसहरू हिउँ खेल्न आएको उनले बताए ।

हिउँमा खेल्न आउने पर्यटकका कारण यस क्षेत्रका होटल पनि भरिभराउ भएका छन् । सिँधुवा बजारमा रहेको स्वागत होटलका सञ्चालक विष्णु पौडेलका अनुसार हिउँ खेल्न आउने मान्छेले होटल भरिएका छन् ।
यस क्षेत्रमा दिउँसो २ बजेदेखि हिउँ पर्न शुरु गरेको हो । हिउँ पर्न थालेपछि मानिसहरू चिसोको पर्वाह नगरी फोटो खिच्न बाहिर निस्किएका छन् । हिउँ करिब २ घण्टासम्म परेको थियो ।

हिउँ परेसँगै उच्च क्षेत्रका बासिन्दा खुशी भएका छन् । हिउँले माटो मलिलो बनाउने र आलु, बन्दा लगायतका बालीको उत्पादन बढ्ने स्थानीय बताउँछन् ।