इटहरीः इटहरीमा रहेको द योङ ब्रदर्श क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय २१ पोका रगत संकलन भएको छ । शुक्रबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलले रगतको अभावका कारण कसैको ज्यान गुम्न नहुने र त्यसका निमित्त क्लबले आयोजना गरेको रगत संकलनले महत्पूर्ण योगदान पुर्याउने बताए । ‘रगत दान भनेको महादान हो, रगत दान गर्नेहरूले यो पूण्यको काम गर्नुभएको छ,’ उनले भने, ‘क्लबले रगत संकलनका निम्त्ति गरेको योगदानलाई पनि धन्यवाद छ ।’

क्लबका संरक्षक तथा कांग्रेस इटहरीका युवानेता विकास केसीले उक्त क्लबले विगतमा गरेका कामको स्मरण गरे ।

क्लबले यसअघि बालआश्रम, बृद्वाश्रम, विपद् आउँदा गरेको सहयोगबारेमा केसीले विगत स्मरण गरेका थिए । ‘क्लबले यसअघि पनि विभिन्न सकारात्मक काम गरेको छ, चाहे बाढी आउँदा होस् वा अन्य कुनै विपद् नै किन नहोस्,’ उनले भने, ‘यो ठाउँमा क्लबले गरेको सकारात्मक कामले यहाँका नयाँ पुस्तालाई पनि प्रेरित गरेको छ ।’

345048810_623077936352278_8111536725616201745_n

उनले इटहरीका युवाहरूले समाजमा योगदान पु¥याउँदै आएकाले आगामी दिनमा समेत थप नयाँ योजनासहित काम गर्न सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले युवाहरूको एकजुट भएर गठन गरिएको क्लबले रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताए ।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार बुद्व जयन्तीको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । साथै, उक्त कार्यक्रममा क्लबका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरियो ।

‘क्लबको मुख्य उदेश्य भनेको समाजसेवा नै हो,’ सुब्बाले भने, ‘हामीले खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उदेश्य लिएका छौँ ।’ इटहरीमा खेलकुद क्षेत्रको स्तरोन्नति गर्न समेत आँफूहरूको भूमिका हुने उनले बताए ।

साथै, सुब्बाले कार्यक्रम सफल बनाउन रेडक्रस, राष्ट्रिय जागृति क्लब, भेट्रान क्लब, लिवरल सोसाइटी तथा विभिन्न संघसंस्थाको भूमिका रहेको भन्दै ती संस्थाहरूलाई धन्यवाद दिए ।

क्लबमा डेढ सय बढी सदस्य रहेका छन् । आँफूहरूले जुनसुकै समयमा पनि इटहरीको सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्न तयार रहेको सुब्बा बताउँछन् ।

yong