इटहरीः निजी तथा आवसीय विद्यालय सङ्घ (प्याब्सन) सुनसरीका पूर्व जिल्ला अध्यक्ष सुमित थापाले निजी विद्यिालय अझैसम्म पनि गरीब जनताको पहुँचमा पुग्न नसकेको बताएका छन् । निजी विद्यालयहरू बढी मात्रामा शहर केन्द्रित हुँदा गाउँका गरीबका छोराछोरी गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेको उनको भनाइ छ ।

उनले आफ्नो कार्यकालमा सुनसरी प्यब्सनमा नयाँ कामको शुरुवात गरेको सुनाए । निजी विद्यालयमा धनीका छोराछोरी मात्र पढ्छन् भन्ने धारणा विकास भएको उनको भनाइ छ । ‘मैले मेरो कार्यकालमा गरीब बालबालिकाको पहुँचमा पनि निजी विद्यालय पु¥याउने कामको सुरुवात गरेको थिए,’ उनले भने, ‘शिक्षाले समाजमा समानता ल्याउनुपर्छ विभाजन होइन ।’

आफ्नो कार्यकालको स्मरण गर्दै उनले सुनसरी प्याब्सनको इतिहासमै पहिलो पटक सिङ्गिङ आइडल प्रतियोगिता आयोजना गरेको बताए । विद्यार्थीलाई पुस्तकमा मात्र होइन व्यवहारमा पनि त्यत्तिकै क्षमतावान् बनाउने उद्देश्यले विभिन्न अतिरिक्त कार्यक्रमको शुरुवात गरेको उनको भनाइ छ ।

‘मेरै कार्यकालमा नगर प्याब्सन गठन भयो,’ उनले भने, ‘बाढीपीडितको लागि रामधुनी नगरपालिका वडा नम्बर ५ मा नमुना बस्ती बनाउनको लागि सम्झौता भएको छ ।’

त्यस्तै क्रियाशील पत्रकारका ३० जना बालबालिकालाई निःशुल्क पठनपाठन गराउने कामको शुरुवात आफ्नै कार्यकालमा भएकोे उनले बताए ।

सुनसरी शिक्षाको चारधामको रूपमा विकास भइरहेको हुनाले यसलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने उनको धारणा छ । पहिले कक्षा उत्तीर्णको आधारमा विद्यार्थीको स्तर मापन हुने गरे पनि अहिले उसको क्षमताको आधारमा स्तर निर्धारण हुन थालेको उनी बताउँछन् । अब हरेक निजी विद्यालयले प्राविधिक र वैज्ञानिक शिक्षा प्रणालीमा जोड दिनुपर्ने उनले बताए ।