काठमाडौंः  उच्च अदातल पाटनले टुकुचा ढल नभइ खोला नै हो भनेर प्रमाणित गरेको छ । 

आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताएका छन् । 

सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । 

अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढ्ने मेयर साहको भनाई छ । 

‘केहिदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम  लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’