प्रतीक्षा आचार्य / नेपाल न्यूज बैंक
काठमाडौंः झापाको विर्तामोड नगरपालिका–२ लालमाटीस्थित सावरीया प्लाई इण्डष्ट्रिमा २१ बैशाखको दिउँसो आगलागि भयो । निमेषभरमै कारखाना भित्रका सबै काठ र काठबाट निर्मित सामग्री जलेर खरानी भए । काठ चिर्ने मेसिनको घर्षणबाट निस्केको झिल्को धुलोमा सल्किएको थियो । सोही आगो कारखानमा फैलिएको थियो । प्रहरीका अनुसार आगलागीबाट कारखानाको ३५ लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको धनमाल जलेर नष्ट भएका थिए ।
२१ बैशाखकै दिन इलामको सन्दकपुर गाउँपालिका–३ स्थित लुमणी पाठकको घरमा ग्याँस लिक भई आगलागी भयो । आगो घरमा फैलियो । निमेषभरमै घर खरानी भयो । आगो निभाउन प्रहरी घटनास्थल पुग्दा घरभित्र रहेको ३० लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भइसकेका थिए ।
गत ८ बैशाखमा कोकर्णेश्वर नगरपालिका–६ नारायणटार लामा पेट्रोल पम्पस्थित अर्जुनसुलभ हार्डवेर पसलमा विद्युत सर्ट भई आगलागी भयो । रातको २ बजे आगोको आगो नियन्त्रणमा आउन झण्डै चार घण्टा लाग्यो । यसबेलासम्म आगो आसपासका १० पसलमा फैलिसकेको थियो । सबै गरि चार करोड रुपैयाँभन्दा धेरैको धनमाल क्षति भएको प्रहरीको भनाई छ ।
गत ८ बैशाखमै टोखास्थित ग्राण्डी अस्पताल नजिकै रहेको मासु पसलमा आगलागि भयो । साँझ ७ बजे लागेको आगो निमेषभरमै अन्य पाँच पसलमा फैलियो । आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भयो । प्रहरीका अनुसार आगलागीबाट झण्डै दुई करोड रुपैयाँभन्दा धेरै मुल्य बराबरको धनमाल जलेर नष्ट भएका थिए ।
बैशाख महिनाएता भएका माथि चार आगलागिका प्रतिनिधि घटना मात्रै हुन् । २२ बैशाखसम्म मुलुकभर आगलागीका तीन सय ३२ घटना भएका छन् । जसबाट १८ करोड २२ लाख १० हजार पाँच सय ९९ रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २२ दिनएता सबैभन्दा धेरै र भिषण आगलागी ८ बैशाखमा भए । उक्त दिनमात्रै मुलुकभर आगलागीका ३९ घटना भए । गुल्मी धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित बर्दबास जंगलमा आगलागी हुँदा एक जनाको मृत्यू नै भयो । आगो निभाउने क्रममा उनको मृत्यू भएको थियो । घटनाका अर्का एक गम्भिर घाइते भएका थिए । त्यस्तै, ७ बैशाखमा मुलुकभर आगलागीका २९ घटना भए । एक जनाको मृत्यू भयो । प्राधिकरणका अनुसार स्याङ्जा कालिण्डकी गाउँपालिका–३ घरमा आगलागी हुँदा एकजनाको मृत्यू भएको थियो । आगो निभाउने क्रममा उनको शरिरमा आगो सल्किएको थियो ।
प्राधिकरणका प्रवक्ता ध्रुववहादुर खड्काले पछिल्ला वर्ष आगलागिका घटना विगतको तुलनामा तेव्वरको संख्याले बढेको बताए । आगलागी तथा डढेलेको संख्या बढदै जाँदा क्षति पनि पनि उल्लेख्य रुपमा वढेको उनको भनाई छ ।
उनले भने,‘पछिल्ला वर्ष आगलागीका घटना ह्वात्तै बढेका छन् । तथ्यांक विश्लेषण गर्दा झण्डै तेब्बरको संख्यामा यस्ता घटना भएको देखिन्छ । घटना बढेसँगै धनजनको क्षतिको विवरण पनि बढेका छन् ।’
प्राधिकरणका अनुसार बनमा डढेलो लाग्ने क्रम पनि बिगतको तुलनामा बढेको छ । बनको क्षेत्रफल बढेका कारण पनि डढेलो बढेको हुनसक्ने प्राधिकरणको बुझाई छ । प्राधिकरणका अनुसार दश वर्षअघि कुल क्षेत्रफलको ३० प्रतिशत मात्रै जंगल थियो । अहिले बढेर ४७ प्रतिशत पुगेको छ । रुखबाट झरेका पात, मक्किएका काठ धेरै भएको हुँदा पनि डढेलोका घटना हुन पुगेको प्राधिकरणका प्रवक्ता खड्काले जानकारी दिए ।
उनले भने,‘दश वर्ष अघि वनको क्षेत्रफल ३० प्रतिशत थियो । अहिले बढे ४७ प्रतिशत पुगेको छ । त्यो खुसीको खवर हो । तर, रुखबाट पात धेरै झर्छन् । काठ मक्किन्छन् । यी इन्धनका स्रोत हुन् । जसलाई आगोले छुन साथ सल्किन्छ । र, डढेलोको जोखिम बढ्ने हुन्छ । बनमा डढेलोका घटना धेरै हुुनुका कारण यही हो ।’
जलवायु परिवर्तन पनि आगलागि तथा डढेलो बढ्नुको मुख्य कारण हुन् । प्राधिकरणका अनुसार पृथ्वीको तापमान प्रत्येक वर्ष बढ्दै गएको छ । जसले पृथ्वीलाई सुक्खा बनाएको छ । यस कारण पनि आगलागि तथा डढेलोका घटना धेरै हुने गरेको प्राधिकरणका प्रवक्ता खड्काले बताए ।
उनले भने,‘जलवायु परिवर्तन पनि डडेल तथा आगलागी हुने मुख्य कारण हुन् । पृथ्वीको तापमान बढिरहेको छ । यसले पृथ्वीलाई सुक्खा बनाएको छ । सँगै, इन्धनका स्रोत पनि सुक्खा भएका छन् । यस्तो आगो लाग्ने सम्भावना अत्याधिक हुनेगर्छ ।’
प्राधिकरणका अनुसार विशेषगरी, मंसिरदेखि बैशाखको दोस्रो सातासम्म डढेलो तथा आगलागीका घटना धेरै हुने गर्छन् । हिमाली क्षेत्रमा पुष र माघमा धेरै आगलागी हुने गर्छन् । बैशाखको दोस्रो हप्तासम्म पहाडी क्षेत्रको तल्लो भाग र तराईमा डढेलो तथा आगलागीका धेरै घटना हुने गर्छन् । वैशाखको दोस्रो हप्तासम्म आगलागी तथा डढेलो उत्कर्षमा पुग्छ । त्यसपछि बोटविरुवामा नयाँ पालुवा पलाउँछ । र, डढेलोको सम्भावना विस्तारै कम हुँदै जान्छ ।
पाँच वर्षमा आगलागीबाट ४ सय ६४ को मृत्यू, साँढे १४ अर्वको क्षति
प्राधिकरणको तथ्यांक अनुसार पाँच वर्षएता मलुकभर आगलागीका १४ हजार पाँच सय सात घटना भएका छन् । जसमा चार सय ६४ को ज्यान गएको छ भने, एक हजार नौ सय ११ घाइते भएका छन् । आगलागीमा १४ अर्व ४३ करोड ४४ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएका छन् ।
तथ्यांक विश्लेषण गर्दा पछिल्ला वर्ष आगलागीका घटना अश्वाभाविक ढंगले बढेका छन् । ०७९–८० को १२ महिना मुलुकभर आगलागीका तीन हजार तीन सय ६५ घटना भए । यो अघिल्लो वर्षको तुलनामा २८.०९ प्रतिशतले धेरै हो । ०७८–७९ को १२ महिनामा मुलुकभर आगलागीका दुई हजार छ सय २७ मात्रै घटना भएका थिए ।
त्यस्तै, आगलागीमा मर्नेको संख्या पनि बढेको छ । ०७९–८० को १२ महिनामा आगलागीमा परी एक सय १२ को मृत्यू भएको थियो । जबको अघिल्लो वर्ष मुलुकभर आगलागीमा परी मृत्यू हुनेको संख्या एक सय चार मात्रै थियो । यो अघिल्लो वर्षको तुलनामा ९.६१ प्रतिशतले धेरै हो ।
बन डडेलो
मिति घटना संख्या मृत्यु घाइते क्षती
०७९–८० ३,३६५ ११२ ४२१ २ अर्व ६९ करोड ६६ लाख
०७८–७९ २,६२७ १०४ ४१८ २ अर्व ५४ करोड ८९ लाख
०७७–७८ २,९०२ १०४ ४०१ २ अर्व ११ लाख करोड लाख
०७६–७७ २,५९२ ५१ ३१४ २ अर्व ९० करोड ७२ लाख
०७५–७६ ३,०२१ ९३ ३५७ ४ अर्व १६ करोड ५१ लाख
जम्मा १४,५०७ ४६४ १,९११ १४ अर्व ४३ करोड ४४लाख
चार वर्षमा डढेलोका तीन सय ६० घटना
प्राधिकरणको तथ्यांक अनुसार मुलुकमा डढेलाको संख्या पनि देखन्छि । चार वर्षको अवधिमा मुलुकभर डढेलोका तीन सय ६० घटना भएका छन् । जसमा सात जनाको ज्यान गएको छ भने, छ जना घाइते भएका छन् । यस अवधिमा क्षति भने एक करोड ५२ लाख रुपैयाँको भएको छ ।
बन डडेलो
मिति घटना संख्या मृत्यु घाइते क्षती
०७६–७७ ७ ० ० सात लाख बीस हजार
०७७–७८ १० ० ० ०
०७८–०७९ ९२ ३ २ ३४ लाख ६६ हजार
०७९–०८० २५१ ४ ४ एक करोड ५२ लाख
जम्मा ३६० ७ ६ एक करोड ९३ लाख