विराटनगर/ मोरङको दक्षिणी ग्रामीण बस्तीका बासिन्दालाई मुख्य राजमार्गको पहुँचमा जोड्ने दक्षिण नाका सडक विस्तारको निर्माण कार्य सुरु गरिएको छ ।

बहुवर्षीय योजना अन्तर्गत जिल्लाको दक्षिणी इलाकालाई उत्तर–दक्षिण सडकमार्फत् पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक निर्माण गर्न शुरु गरिएको हो ।

३ वर्षमा सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया शुरु गरिएका सडकले जिल्लाको दक्षिणी भेगका बासिन्दालाई मुख्य राजमार्गसँग पहुँचमा ल्याउने बताइएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर दीपक झाका अनुसार मोरङमा दक्षिणको बरडंगा–आमबारीदेखि उत्तरको उर्लाबारी जोड्ने ९ किलोमिटर दुरीको सडक, बेलबारी नगरपालिकाको डाँगीहाट लक्ष्मीमार्गदेखि दक्षिणमा धनपालथान गाउँपालिकाको बनौलीसम्म साढे ९ किलोमिटर, जहदा गाउँपालिकाको रामचोक–सिनवनी जहदा हुँदै कटहरीको मझारे–पोखरिया जोड्ने साढे ८ किलोमिटर सडक निर्माण तथा बिस्तारको काम शुरु भएको छ ।

यी सबै सडकले भारतको सीमासम्मका नेपाली बस्तीलाई मुख्य राजमार्गसँग जोड्नेछन् । जहदा गाउँपालिकाको रामचोकदेखि कटहरी गाउँपालिकाको मझारे तरिगामासम्म जोड्ने सडकलाई ५ मिटरबाट ९ मिटर चौडाइमा बिस्तार थालिएको छ । यो सडक खण्डको साढे ८ किलोमिटरमध्ये पहिलो चरणमा ४ किलोमिटर निर्माणका लागि काम शुरु गरिएको निर्माण कम्पनी रणभूमि ज्वाइन्ट भेन्चरका शुभम् बोहराले जानकारी दिएका छन् ।

अढाइ वर्षमा सबै सडक निर्माण गरिसक्नुपर्ने गरी ठेक्का सम्झौता भएको बताइएको छ । पहिलो चरणमा ४ किलोमिटर सडक ५ करोड ४९ लाख ८२ हजार रुपैयाँ लागतमा बन्न लागेको हो । सडक डिभिजन कार्यालयले १६ करोड लागत अनुमान गरेको यो सडकको ठेक्का सम्झौता हुँदा ३० प्रतिशत न्यूनदरमा भएको इन्जिनियर झाको भनाइ छ ।

९ मिटर चौडा सडकका साथै ४ वटा कल्भर्ट निर्माण गर्नुपर्ने ४ किलोमिटर दुरीको कामलाई १ वर्षभित्रै सक्ने योजना रहेको निर्माण कम्पनीका प्रतिनिधि श्याम मण्डलको भनाइ छ । सडकको दुवै क्षेत्रमा ढुंगाको पर्खाल उठाएर माटो भर्ने र पानीको निकासको काम गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ । यो सडकलाई मिथिला क्षेत्र सडकको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

त्यसबाहेक लक्ष्ममार्ग–डाँगीहाट–कर्सिया बनौली साढे ९ किलोमिटर सडक १५ करोड रुपैयाँ लागतमा बन्ने भएको छ । यसको समेत निर्माण सम्झौता भएर काम थालिएको छ । यसैगरी बरडंगा–आमबारी–उर्लाबारी ९ किलोमिटर सडक निर्माणको काम समेत धमाधम भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुख्य राजमार्गसँग भारतको सिमानासम्म रहेको दक्षिणी बस्तीलाई जोड्ने सडक निर्माण भएसँगै भारतसँगको व्यापारसँगै छोटी भन्सारका नाका समेत सञ्चालनमा आउन सक्ने कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत बताउँछन् ।

अध्यक्ष कामत कटहरी गाउँपालिकाले समेत दक्षिणी बस्ती र भित्री ग्रामीण बस्तीलाई गाउँपालिकासँग जोड्ने, छिमेकी गाउँपालिका तथा नगरपालिकासँग जोड्ने ६ वटा सडक निर्माणको काम भएको बताउँछन् ।

गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर चालु वर्षमा विनियोजन गरेको १४ करोड रुपैयाँ रकममध्ये ९८ प्रतिशत रकम खर्च भएको उनको भनाइ छ । कटहरी गाउँपालिकादेखि दक्षिण भारतीय सीमा जोड्ने सडकलाई बजेटले बढी समेटेको अध्यक्ष कामतले जानकारी दिएका छन् ।