विराटनगरः नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जो कोही पनि कारवाहीको दायरामा आउने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग डाक्टर कोइरालाले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तराष्ट्रिय हिसावले पनि जोडिएको भएको कारण अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी पनि गरे ।

उनले भने ‘ यो त नक्कली शरणार्थीको इस्यु,देशको लागि पनि लज्जास्पद कुरा हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृतमा राष्ट्रिय रुपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ । शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो केभइरहेको छ नेपालमा भनेर । त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिं विश्वास लाग्दैन ।’

नेता कोइरालाले प्रहरीले अनुसन्धान जारी राखेकोले दोषी कोही पनि छुट्ने अवस्था छैन् । यस प्रकरणमा संलग्न जोकोही भएपनि बचाउनेतर्फ कोही लाग्न नहुने उनको भनाइ छ । 

उनले भने ‘जो–जो दोषी हुन् उनीहरु त कारबाहीमा पर्नुपर्छ । गतल काम भएको छ , ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरुले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तराष्ट्रियकरण भइसकेको छ । त्यसकारण त्यति सजिलो गरि प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।’

अर्को एक प्रसंगमा नेता कोइरालाले महामन्त्री गगन थापाले असन्तुष्टि पोखेको विषय सभापतिप्रति लक्षित हुनसक्ने बताए । अहिले मन्त्री बनेकाहरु काँग्रेसबाटै बनेको भन्दै यसमा सबैसँग सल्लाह गरेरै भएको कोइरालाले बताए । 

उनले भने ‘सबैसँग सल्लाह गरेरै मन्त्री बनेका हुन् । मन्त्री बन्नेहरु काँग्रेस नै हुन् । महामन्त्रीहरुले राखेको असन्तुष्टिको विषय उहाँसँगै सोध्नुहोला,म सँग गगनको कुनै पनि तिक्तता छैन ।’