इटहरीः नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सारिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यालय एकातिर र विश्वविद्यालय अर्कातिर हुँदा उपकुलपतिको निगरानीबाहिर विश्वविद्यालय भएकाले विकास हुन नसकेको भन्दै गोठगाउँबाटै प्रशासनिक कार्य सम्पादन हुनुपर्ने उनले बताए ।

स्थापनाको लामो समयसम्म पनि मेडिकल शिक्षा लगायतका अन्य विषयमा सोचेजस्तो कार्यक्रम सञ्चालन गर्न नसकेको उनको भनाइ छ । सँगै सञ्चालनमा आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेख्य प्रगति गर्दै गर्दा पूर्वाञ्चल विश्वविद्यालय चाहिँ खुम्चिएरै बसेजस्तो देखिएको उनले बताए ।

बीपीमा आफू उपकुलपति भएको स्मरण गर्दै उनले भने, ‘हामी शनिबार पनि प्रतिष्ठान वरपर घुमेर कहाँ के गर्ने र कसरी गुणस्तरीय मेडिकल शिक्षा चलाउने भन्नेबारे छलफल गथ्र्यौं । तर अहिलेका उपकुलपति महिनामा १ पटक पनि विश्वविद्यालय पुग्दैनन् त्यसैले विश्वविद्यालय रचनात्मक बन्न सक्दैन ।’

उपकुलपति विश्वविद्यालय परिसरमै बस्न शुरु गरेपछि विश्वविद्यालयको विकास आफैँ हुने उनको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालयमा पर्याप्त सम्भावना भए पनि नेतृत्वको अकर्मण्यताको कारण त्यो सम्भावना बाहिर आउन नसकेको उनले बताए ।