भोजपुरः भोजपुरबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा दुर्घटना हुँदा १ जना महिलाको ज्यान गएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित ८ जना घाइते भएका छन् ।
बिहान ११ बजे धरानका लागि छुटेको सो बस ब्रेक फेल भई पल्टिएको बताइएको छ । दुर्घटनामा अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
१६ जना यात्रु लिएर हिँडेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा परेको हो । रामप्रसाद राई गाउँपालिका–८ बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की र विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सीताकुमारी राई पनि घाइते भएका छन् ।
भोजपुरकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४ धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी सङ्खुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।