विराटनगर/ उद्योगबाट निस्कने फोहोर पानी बस्तीमा फ्याँकेपछि मोरङको बुढीगंगा–५ हात्तीमुढामा रहेको क्वालिटी नुडल्स उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् ।

उद्योगबाट निस्कने प्रद्षित पानीको निकास नहुँदा बस्तीमै छिर्न थालेको थियो । उद्योगबाट निस्कने फोहोर पानीले बस्ती डुबान हुँदा दुर्गन्ध फैलिएपछि पानीको निकास व्यवस्थापन नहुँदासम्म स्थानीयले तालाबन्दी गरिदिएका छन् । यसअघि पटक–पटक उद्योग व्यवस्थापक तथा सञ्चालकसँग स्थानीयले पानीको निकासको लागि अनुरोध गरिसकेका थिए ।

उद्योगबाट निस्कने पानीलाई नजिकै रहेको स्थानीय खोलामा लगेर मिसाइएको छ । स्थानीयले प्रयोग गर्दै आएको खोलामा पानी मिसाइएपछि त्यसको असर दैनिक व्यवहारमा परेको उनीहरूको भनाइ छ । उद्योग स्थापना हुँदा स्थानीय र क्वालिटी उद्योगका सञ्चालक श्याम काबराबीच २०७३ साल पुस २२ गते ५ बुँदे सहमति भएको थियो ।

तत्कालीन हात्तीमुढा गाउँ विकास समितिका सचिव हरिप्रसाद सुवेदीको रोहबरमा भएको सम्झौतामा पानीको निकास मिलाउने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने, उद्योगबाट निस्कने प्रदुषित पानी प्रशोधन गरेर मात्रै खोलामा मिसाउने, बस्तीसम्म पुग्ने मनमोहनचोक देखि हात्तीमुढासम्मको बाटो मर्मत गर्ने लिखित सम्झौता भएको थियो ।

सञ्चालकले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर तालाबन्दीमा उत्रनुपरेको स्थानीय प्रकाश बुढाथोकी बताउँछन् । गाउँभर प्रदुषित पानीका कारण कृषि उपज उब्जनी नभएको, चौपायालाई चराउँदा समस्या देखिएको, घाँसे मैदान नष्ट भएको र प्रदुषणको असर मानव स्वास्थ्यमा देखिएको बुढाथोकीको आरोप छ ।

उद्योग सञ्चालकले अन्य शर्त पालना नगरे पनि उद्योगबाट निस्कने प्रदुषित पानीको निकास तत्काल मिलाउनु पर्ने अर्का स्थानीय लालवीर सरदार बताउँछन् । उनका अनुसार स्थानीय स्तरमा स्थापित उद्योग बन्द गर्ने मनसाय नभए पनि समस्याको निकास व्यवस्थापन पक्षले दियोस् भनेर दबाब दिन तालाबन्दी गरिएको हो ।

स्थानीयले एक हप्तादेखि उद्योगका सञ्चालकलाई सचेत गराएपछि बिहीबार दिनभर उद्योगको मुख्यद्वारमा धर्ना दिएर बसेका थिए । दिनभर धर्ना दिँदा समेत व्यवस्थापन पक्षले बेवास्ता गरेपछि साँझ तालाबन्दी गरेका हुन् ।
स्थानीयको तालाबन्दीप्रति सञ्चालक काबराले आफूले गरेको सहमतिअनुसार स्थानीयलाई रोजगारीमा प्राथमिकता दिएको दाबी गरेका छन् । उनले उद्योगबाट प्रदुषित पानी ननिस्कने दाबी गर्दै नचाहिँदो माग राखेको प्रतिक्रिया दिएका छन् ।