इटहरीः प्रदेश नम्बर १ का वन, वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेश सरकार वन अतिक्रमण रोक्न लागिपरेको बताएका छन् । पर्यटन विकास र प्रवद्र्धनमा पनि सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

सुनसरीको रामधुनी–७ स्थित पञ्चायन सामुदायिक वनको १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री कुसियतले पछिल्लो समय वनक्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै अतिक्रमण रोक्न सबै लाग्नुपर्ने बताए ।

उनले वन क्षेत्रको सिमसारलाई संरक्षण गरी पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सके जो कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था नरहने बताए । सुनसरी पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला भएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि निश्चित योजनाका साथ काम भइरहेको उनले बताए ।
सुनसरीको बर्जु ताल, रामधुनी, सप्तकोशी नदी करिडोर, वराहक्षेत्र, पिण्डेश्वर, रास ताल र तालतलैया क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको उनको भनाइ थियो । पर्यटन प्रवद्र्धनको लागि स्थानीय सरकार पनि अग्रसर हुनुपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला वन महासङ्घका केन्द्रीय सदस्य गणेश गुरागाईंले जल, जमिन र जङ्गलको मालिक स्थानीय जनता हुनुपर्ने बताए । जिल्ला डिभिजन कार्यालय सुनसरीका सहायक वन अधिकृत महेश शाहले वनजङ्गलको संरक्षण गर्ने सामाजिक संस्कारको विकास गर्नुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ सुनसरीका अध्यक्ष केशव गौतमले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन मास्न सरकार लागि परेको आरोप लगाए । साधारणसभामा पञ्चायन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम कार्कीले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।