भोजपुरः आज बिहान भोजपुरबाट धरान जाँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये गम्भीर घाइते ४ जनालाई जिल्ला अस्पताल भोजपुरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको छ । सामान्य घाइते ४ जना भने प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको अरुण गाउँपालिका– ३ प्याउलीका विष्णुमाया कार्की र दिलमाया कार्की, भोजपुर–१० भैंसीपंखाकी सीताकुमारी राई र बस चालक मोरङको विराटनगरमा आशाराम सरदारलाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको हो ।
सो दुर्घटनामा परी भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको भने घटनास्थलमै मृत्यु भएको थियो । भोजपुर सदरमुकामबाट बिहान ११ बजे १६ जना यात्रु लिएर धरान हिँडेको को १ ख ३०५९ नम्बरको सुम्निमा ट्राभल्स ब्रेक फेल भई पल्टिएको थियो ।