इटहरीः प्रदेश १ मा गत शनिबारदेखि आजसम्म थुप्रै व्यक्तिहरू समाचारका स्रोत बने अर्थात् उनीहरू वरीपरी समाचारहरू लेखिए । राजनीति, कर्मचारीतन्त्रदेखि कला साहित्य अनि पर्यटन आदि क्षेत्रका विभिन्न व्यक्तित्वहरूले यो साता समाचार बनाए । यस्ता छन् यो साता प्रदेश १ मा समाचार बनाउने शीर्ष सात व्यक्तित्वहरूः

१. प्रेमप्रसाद सञ्जेल, उपसचिव, नेपाल सरकार
पुस ९ गते सोमबार विराटनगरमा नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सनसनी हुने समाचार दिए । उनले आफूले घुस नलिने र अरुलाई पनि त्यस्तो वातावरण नबनाएकै आधारमा विराटनगरका केही व्यापारिक शक्तिहरू र आफ्नै कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा आफ्नो सरुवा गरिएको भन्दै पत्रकार सम्मेलन नै गरे ।

नेपाल सरकारले पदीय मर्यादा नाघेको भन्दै कारबाही गरेमा के गर्नुहुन्छ भन्दा पत्रकार सम्मेलनमा सञ्जेलले आफू ज्यान दिन पनि तयार भएको तर अन्यायका विरुद्ध बोलेरै छाड्ने बताएका थिए ।

श्रम कार्यालय विराटनगरका प्रमुख सञ्जेललाई सरुवा थमाइए यता उनी हाल दैनिक रूपमा न्युजका पात्र बनिरहेका छन् । इटहरीमा त उनको पक्षमा नाराबाजी पनि भएको थियो ।

२. महेश बस्नेत, मेयर, इलाम नगरपालिका
इलाम नगरपालीकाका मेयर महेश बस्नेत रचनात्मक काम गर्छन् । उनले प्रदेश १ मै पहिलोपल्ट स्थानीय सरकारको तर्फबाट लगानी सम्मेलन सङ्घीय राजधानी काठमाडांैमा गरेका थिए । अब इलाममा पनि पुस २० गतेबाट २ दिने लगानी सम्मेलन गर्दैछन् मेयर बस्नेत ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा हुने लगानी सम्मेलनबाट इलामको उद्योग, पर्यटन, व्यापार, व्यवसाय र रोजगारीमा फाइदा पुग्ने मेयरको तर्क छ । लगानी सम्मेलनजस्तो मौलिक र युनिक काम अगाडि बढाएकाले मेयर बस्नेत अहिले चर्चामा छन् ।

३. महेश पौडेल, राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज
इटहरीका स्थानीय महेश पौडेल यस पटक जनकपुरमा भएको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय अधिवेशनबाट राष्ट्रिय अध्यक्ष भएपछि प्रदेश १ मा हेडलाइन बने । मोफसलबाट देशभरका प्रतिनिधिहरूको मन जितेर राष्ट्रिय अध्यक्ष भएका पौडेल अहिले पनि शुभकामना र बधाई थाप्नमा व्यस्त छन् । पुस १० गते मङ्गलबार आफ्ना प्रतिद्वन्द्वी सुदीप राजभण्डारीलाई ६ सय ५१ मतान्तरले पराजित गरेका पौडेल अहिले पनि चर्चामा छन् ।

४. कुन्ता शर्मा, कवि तथा पूर्व सांसद
२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा धरानबाट प्रत्यक्ष निर्वाचित सांसद कुन्ता शर्मा चर्चित कवि पनि हुन् । निकै लामो समय कविताकर्मबाट ओझेलमा परेजस्तै देखिएकी शर्मा याे पटक पोखरामा भएको नेपाल साहित्य उत्सवमा जमिन् । ‘पोथी बास्नु हुन्न’ शीर्षक कविता सुनाएर र प्यानल डिस्कसनमा सहभागी भएर शक्तिशाली प्रस्तुति दिएकाले शर्माले प्रदेशमा चर्चा पाइन् ।

उनी प्रदेश १ मै बसेर साहित्य साधना गर्नेहरूमा पोखरा पुग्ने एक्ली साहित्यकार पनि थिइन् । यसकारण पनि उनको चर्चा याे साता चल्यो । चार दिन सञ्चालन भएको साहित्य उत्सव पुस १० गते सकिएको थियो । तर, उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिका बारेमा ‘हलीअनुसारको गोरु भन्ने शर्माको तर्कको चर्चा भने अझै सकिएको छैन ।

५. जितेन्द्र रुम्दाली, अध्यक्ष, होटल एसोसिएसन भेडेटार
जितेन्द्र रुम्दाली नेतृत्वको होटल एसोसिएसन भेडेटारले यही पुस १६ बाट भेडेटारमा ३ दिने खाद्य महोत्सवको आयोजना गर्दैछ । महोत्सव शुरु हुनुभन्दा अगाडि रुम्दाली चर्चित हुनुमा महोत्सवकै हेलिकोप्टर उडान हो । ४ हजार ९ सय मै उडान गराइने भनिएको हेलिकोप्टर उडानको चर्चा अहिले सामाजिक सञ्जाल र अनलाइन मिडियामा छ । सिम्रिक एयरसँगको यो उडान होटल एसोसिएसनबाट शुरु गर्ने रुम्दाली पहिलो अध्यक्ष पनि बनेका छन् ।

विराटनगरमा आजै सकिएको विराट एक्स्पोमा हेलिकोप्टर उडान गरी ६ हजार रुपैयाँमा शहर अवलोकन गराउने भनिए पनि हेलिकोप्टर उडान भएन । त्यो कुराले पनि अहिले भेडेटारको हेलिकोप्टर उडान चर्चामा छ । र, यो उडानका प्रस्तावक जितेन्द्र रुम्दाली पनि चर्चामा छन् ।

६. जीवन घिमिरे, सामाजिक विकास मन्त्री, प्रदेश १
प्रदेश १ का सामाजिक विकास मन्त्री पनि यो साता चर्चामा रहे । आफ्नो मन्त्रालयका खर्च विवरणहरू सार्वजनिक गरेका मन्त्रीले ९८ करोड, २२ लाख १ हजार बजेटको निकासा भएको बताए । मन्त्रालयमै पत्रकार सम्मेलन गरेर मन्त्री घिमिरेले दिएको यो जानकारी धेरै कभर भएको थियो । प्रदेश सरकारले विभिन्न कारणले खर्च गर्न नपाएको भन्ने चर्चा चलिरहँदा खर्चको विवरण सार्वजनिक भएको विषयले समाचार बनेको थियो ।

७. इन्द्र आङ्बो, आर्थिक मामिला तथा योजना मन्त्री (अर्थमन्त्री), प्रदेश १
प्रदेश १ सरकारको बजेट गत वर्षको चैत २९ गते सार्वजनिक भएको थियो । तर, यत्ति लामो समय भइसक्दा पनि विकास निर्माणको लागि आवश्यक पूँजीगत खर्च नभएको देखिन्छ । यसो हुनुमा विभिन्न प्रश्नहरू अर्थमन्त्री आङ्बोतिर सोझिएका छन् । यसमा मन्त्री आङ्बोले सार्वजनिक खरिद ऐन, नियमावलीको मुख्य दोष रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रदेश मातहत आउनुपर्ने कर्मचारी र कार्यालयहरू नआउनु अनि सार्वजनिक खरिद ऐन तथा नियमावलीले बजेटको पूँजीगत खर्च नभएको मन्त्रीले बताएका छन् । बजेट कार्यान्वयनको प्रश्न धेरै आएको यो समयमा अर्थमन्त्री पनि यो साता चर्चामा रहे ।