इटहरीः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

‘तमू ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पाले यो चाड मनाउँछन् ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तमू (गुरुङ) समुदाय बाहुल्य क्षेत्रमा मनाइने यो पर्व पूर्वका गुरुङ समुदायले पनि मनाउने गर्छन् ।