गुणराज लोहनी
“बाबा, प्रचण्ड हजुरबासँग लाग्नु भयो, हजुरको अतिप्रिय मान्छे हाम्रो ममीलाई गुमाउनु भयो । किरण हजुरबासँग लाग्नु भयो, कहिल्यै सञ्चो नहुने रोग मायोस्थेनियाको शिकार हुनु भयो । विप्लव अंकलसँग लाग्नु भयो, हामी जन्मिएको भूमि बेचेर दिनु भयो ।” नातिनी जन्माएकी छोरी भेट्न जाँदा अनुले भनिन् । प्रसग थियो पैसाको ।
साउन र भदौ दुई महिना भयो घरभाडा तिरिएको थिएन । घर भेटीले भाडा मागिरहेकी थिइन् । कतै ऋण खोजौं जस्तो लाग्यो । धेरथोर पैसा भैराख्ने डिल्ली(उर्मिलाको साइलाबाको छोरी शारदाका श्रीमान्)सँग मागौ. क्या हो ? भन्ने लाग्यो । फोन गरें । उनले असोज २४ गते मेरो नविल बैंकको खाता पचास हजार पठाइ दिए । सरलाजीलाई चेकबुक खोजि दिन भनें । चेकबुक पाएपछि म नयाँबानेश्वरको नविल बैंकको शाखा गएँ । कुपन लिएँ । पालो आएपछि चेक दिएँ । क्यासियरले केहीबेर पछि “एकछिन है सर, हजुरसँग म्यानेजर सरले कुरा गर्नु पर्छ” भनिन् र मलाई म्यानेजरको च्याम्बर लिएर गइन् । म्यानेजर कम्प्युटरमा केहीबेर खेले र मतिर फर्किदैं भने “यो खाता तपार्इँकै हो ?” मैले हो भनें । उनले “यो खाता राष्ट्र बैंकले रोकेको छ । तपाईँ पैसा निकाल्न सक्नु हुन्न ।”
उनको भनाईले म अचम्मित भएँ । मैले उनीसँग प्रश्न गरें किन रोकेको होला केही बुझ्न सकिन्छ ? उनले प्रत्युत्तरमा भनें सायद राजश्व नबुझाएकाले होला । मैले राजश्व बुझाउनु पर्ने खासै ठाउँ छैन । अलि राम्रोसँग बुझिदिनुस् न भनेर, म्यानेजरलाई अनुरोध गनें । उनले बुझ्दा टेकु प्रहरी परिसरले खाता बन्द गरिनिु भन िलेखेको रहेछ ।
तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्रराज केसीलाई फोन गरें । उनले काठमाडौंका सीडीओलाई भेट्न भनें । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगें । उनले कुनै एकजना कर्मचारीको पछि लगाइ दिए । उनले मुद्दाको फाइल खोजे भेटिएन । ती कर्मचारीले टेकु गएर बुझ्नु भनें । टेकु पुगें । टेकु प्रहरी परिसरले २०७५ चैत ३ गते प्रतिबन्ध लागेको पार्टीको केन्द्रीय नेता भनेर मेरो नाममा मुद्दा दर्ता गरेको रहेछ । टेकु प्रहरीले सरकारी वकिलको कार्यालय गएर मिसिल खोज्नुस् यहाँ अरु केही हुँदैन भनेर पठाइ दियो । त्यहाँबाट जिल्ला सरकारी वकिलको कार्यालय गएँ ।
अहो ! यो सरकारी वकिलको कार्यालय हो कि सिंहदरबारको गेट । सिंहदरबार जानकालागि कुनै मन्त्रालयको पास मगाउनु पर्दछ । ठीक यसैगरी जिल्ला सरकारी वकिलको कार्यालयमा जाँदा पनि मैले बाहिर ढोकानिर बसेका पुलिसलाई भन्नु प¥यो । पुलिसले अनुमति लिएर आउन भनें ।
अब मलाई प¥यो फसाद ! मैले कसैलाई चिनेको छैन । कसरी जाने हो त कार्यालय भित्र । यस्तैमा कैलाश लोहनीको याद आयो । उनलाई फोन गरेर बबरमहल आउन भनें । उनी हाँस्दै आए । उनको हाँसोमा खिसिट्युरी थियो, बढो नेता बन्थ्यौ त यत्ति वकिलको कार्यालय पनि जान सकेनौं ? उनी अलि छुच्चा पनि छन् । मुखै फोरेर भने बन्दुक उठाएर ल्याएको गणतन्त्रमा तिमीलाई सरकारी वकिलको कार्यालयमा प्रवेश निषेध ! हाम्री हजरआमाले भन्नु हुन्थ्यो बोल बोल मछरी मुख भरी पानी । मैले उनको व्यग्यंलाई मुस्कार तुरिदिएँ ।
उनले के के गरे भित्र जाने चाँजोपाँजो मिलाइ हाले । उनी अघिअघि लागे । म उनको पछिपछि आज्ञाकारी सन्तान झैं हिडें । कैलाशले सरासर सरकारी वकिलको कार्यालयका प्रमुखको कोठामा लगे । मैले हाकिमलाई दुबै हात जोडेर नमस्कार गरें । तर कैलाशले दाहिने हातले सलाम गरे । उनको फुर्तिफार्ती नै हेर्न लायक थियो । हाकिमसँग मलाई आफ्नो दाई भनेर परिचय गराउनुका साथै मेरो मुद्दाको बारेमा विस्तृत विवरण भने । हाकिमले घण्टी बजाए । सायद कार्यालय सहायक होला धनुषटंकार अवस्था प्रकट भएका सहायकलाई कुनै सरलाई बोलाउन भने । वकिलको पोशाकमा फाइल बोकेर उपस्थित भए एकजना । हाकिमले मेरो मुद्दाका बारेमा जानकारी गराए । उनी व्याख्या सुनेपछि बाहिरिए । लगभग एक घण्टा पछि ती वकिल प्रवेश गरेका थिए । उनले भने खाली मुद्दा परेको तर कुनै लिखत छैन । सायद जिल्ला अदालतमा हुन सक्दछ । हाकिमले कैलाशतिर फर्किएर भने कैलाश सर, हजुरको दाईको मुद्दाका बारेमा लिखत भेटिएन । सरले जिल्ला अदालतमा बुझ्दा राम्रो होला भन्दै हामीलाई बिदा गरेका थिए ।
दिनभरीको दौडान, मानसिक थकाईले चुर भएर कोठामा पुगें । सरलाजी बुढोले पैसा ल्याउँछ र भाडा तिरौंला भनेर बस्नु भएको रहेछ । कोठाभित्र पस्दै गर्दा भन्नु भयो तिमीले पैसा ल्यायौ ? दिनभरी पानी पनि नखाइकन दौडिएको, पाएको दुखका बारेमा केही नसोधिकन पैसाको कुरा गर्दा दिमाग झनन् भयो । एकातिरको रिस अर्कोतिर खन्याउनु पनि भएन । त्यसैले चुप लागेर मोबाइल हेर्न थालें । सरलाको झर्को आवाज आयो हैन तिमी किन बोल्दैनौं, पैसा ल्याएनौं । मैले छैन भनी टाउको मात्र हल्लाएँ । मैले आफ्नो हविगत र बाध्यता पोखें, सरलाजी तपाईँ दुइै पटक सांसद भएको भोलि जिल्ला अदालतमा गएर मुद्दाका बारेमा बुझ्नुस् न अलि सजिलो होला म त हैरान भएँ । म काम विशेषले काठमाडौं बाहिर निस्किएको थिएँ । सरलाबाट पनि कुनै दाल गलेन छ ।
शेरबहादुर देउवाको सरकार थियो । हाम्रा ४३ जनासाथिहरु केपी—प्रचण्ड सरकारले लगाएको प्रतिबन्धमा विभिन्न मुद्दा लागेर जेल हुनुहुन्छ । यिनै मुद्दालाई लिएर हामी प्रचण्ड निवास खुमलटार पुग्यों । भेटघाटमा धेरै कुरा भए । हामीले प्रतिबन्धमा लागेका मुद्दा खारेज गर्न र बन्दिहरुलाई रिहा गर्न भन्यौं । त्यही प्रसंगमा मैले भनेको थिएँ ,धरौटिमा छाड्दा पनि लगभग २ करोड लाग्दो रहेछ । प्रचण्डले त्यत्ति लाग्ने भएत पैसा तिरेर निकाल्नुस् न । कानूनी प्रक्रिया गर्दै गरौंला भने । अनि मैले भने हामीसँग त्यत्रो पैसा छैन कसरी निकाल्ने ? केही साथीहरुलाई आफ्नो जग्गा राखे पनि निकालियो । उनले सहजै भने जाबो २, ३ करोड पनि छैन । उनको कुरा सुनेर हामीलाई अचम्म लाग्यो, कति फरक भएछ है आर्थिक अवस्था ।
त्यहीक्रममा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुन पुगे । हाम्रो पार्टीले ३ बुँदे सहमति, मुद्दा खारेजी र बन्दि रिहाईसहितका माग राखेर माघ ६ गते सिंहदरबारमा प्रधानमन्त्री भेट्न गयौं । उनका अघिपछि हिड्ने रमेश मल्ल, मनहरी तिमिल्सिनालगायतका सबैजसोले दाई भनेर अभिवादन गरे । ज्ञापन पत्र बुझाइयो । एकदिन मनहरी मार्फत प्रचण्डलाई भेटौं कि भन्न मनसाय जाग्यो । मसँग उनको फोन थिएन । फेसबुकमा म्याजेस पठाएँ । तुरुन्तै प्रत्युत्तर आयो गुरु म मिलाउँछु । एकहप्ता पर्खिएँ । आएन । मैले पेरि म्यासेज गरें ढिलो गरी उत्तर आयो मिलाउँदै छु । फेरि एकहप्ता फेरि गरें उताबाट भोलि विहान ९ बजे बालुवाटार आउनुस् । मैले छोरालाई ल्याउने कुरा गने । उनले बाबुलाई पछि भेटौंला अहिले गुरुमात्र आउनुस् । म समयमा नै पुगें । सचिवालयमा बस्न भनियो । त्यहाँ मनहरी र वीरेन्द्र ओली गफिएर बसेका रहेछन् । त्यो मैले भेट्नुका ३ वटा कारण थियो । पहिलो न्यु वेवलाई प्रधानमन्त्रीको अन्तर्वार्ता लिने । दोस्रो मेरो रोक्का गरिएको खाता खोलिदिने र तेस्रो छोराले सुन्तला खेती गर्छु भनेको थियो, त्यसकालागि जग्गा धितोमा राखेर सस्तोमा ऋण उपलब्ध गराइदिने । मनहरीले प्रधानमन्त्रीसँग समय नभएकाले अन्तर्वार्ता दिन सक्नुहुन्न । प्रश्न पठादिनुस् भने, अरु २ वटा काम त छु मन्तर भैहाल्छ । बाबुलाई लिएर सिंहदरबार आउनस् ।
अर्कोदिन छोरालाई लिएर सिंहदरबार गएँ, १२ बजे आउनु भनेका थिए । हाम्रो पास नै पठाएका रहेनछन् । दशौं पटक फोन गर्दा बल्ल बल्ल फोन उठाए । १ घण्टापछि पास आएछ । बाउछोरा रुझेको बिरालो जस्तो गरी सिंहदरबार गयौं । प्रधानमन्त्रीको कार्यालयतिर जाँदा पुलिसले तपाईहरु यो बाटो होइन बल्लो बाटो जानुस् भन्यो । उसले भनेकैतिर बाट गयौं । मनहरीको च्याम्बरमा गएर बसियो २ घण्टा भयो आउँदैनन् । फोन ग¥यो भने कि त उठाउँदैनन् कि त एकछिन गुरु बस्दै गर्नुस् भन्छन् । लगभग ३ बजे उनी आइपुगे ।
मलाई केही बोल्न मन लागेन । जनयुद्धमा ज्यान अर्पिने, जीवनसाथी गुमाउने, सर्वस्वहरण गराइ माग्ने मान्छे जसलाई प्रचण्डले मलाईृ मात्र होइन उर्मिला, हाम्रा सन्तान सबै चिनेका छन् । उर्मिला शहीद हुँदा दिल्लीमा म बसेको कोठामा आएर उर्मिला हिरोइन हो भनेर आँशु झार्ने प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रेश विज्ञलाई भेट्न यति महाभारत हुन्छ भने अरुको हाल के होला ? मनमनै गमे ।
मलाई लाग्यो छोराले मनमनै भन्यो होला, उसले कहिलेकाँही मिलाएर भन्छ पनि बाउको मन नदुखोस् भनेर हामीलाई टुहुरोजस्तै बनाएर तिम्रा बुढाबुढी जनयुद्धमा गएका थियौ त देश र जनताको मुक्तिकालागि भनेर ठिक्क भयो सुढ्ढो !
काम गरेको भन्ने देखाउनकालागि होला । रमेश मल्लले काठमाडौंका सीडीओलाई फोन गरेर भनिदिएछन् । एक दिन सीडीओले फोन गरेर गुणराज सर आउनुस् न भने । गएँ । फेरि उही कुरा दोहोरिएको छ । टेकु जाउ, मुद्दा हेर, अदालत जाउ । जाँतो घुमेसरी । छोराको प्लान त ढलान भै हाल्यो । अन्तमा लिखित अन्तर्वार्ता पनि दिन मिल्दैन भन्दै थिए मनहरी ।
टेकु पुगेपछि थाहा भयो कि मलाई दर्ता नम्बर ९२९ मा मुद्दा चलाइएको छ । २०७५ साल असार २१ गते आमाको मृत्यु हुँदा देवघाटमा दाहसंस्कार गर्दैगर्दा पुलिस गिरफ्तार गर्न गएको थियो । त्यहाँबाट आमालाई नजलाई पुलिसको आँखा छलेर हिडेको मान्छे । अझ के के बेहोर्नु छ । खुन, पसिना एक बनाएर ल्याएको गणतन्त्रमा बागको छालामा स्यालको रजाइँ चलिराखेको छ ।