पाँचथरः शनिबार राती मुसलधारे वर्षासँगै खोलामा आएको बाढीले पाँचथरमा ठूलो क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार बाढीमा परेर ६ जना बेपत्ता भएका छन् ।

फिदिम–१०, का सञ्जोग लोवा, हिलिहाङ–७, का दिल कुमार तामाङ, फिदिम–४, स्थित हेंवा खोलामा गिट्टी कुटेर जीविकोपार्जन गर्ने १ जना, फिदिम–४, माझिटारका २ जना र फालेलुङ–३, का १ जना गरी ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीकार्य सुरु गरिएको छ ।

त्यस्तै वर्षासँगै हेंवाखोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गत हेंवाखोलाको मोटरेवल पुल बगाएको छ । बाढीले पुल बगाएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी साधन सञ्चालन प्रभावित बनेको छ ।

त्यस्तै फालेलुङ गाउँपालिका २ वटा मोटरेवल पुल र एउटा झोलुङ्गे पुल बगेका छन् भने याङवरक–१, च्याङथापुमा बाढीका कारण घर बगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।