विराटनगर/ नेपाली कांग्रेस रंगेलीका सभापति जगनाथ मण्डलका छोरा भरत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको विषयले विवाद सिर्जना गर्दा रंगेली नगरपालिकाको नगर परिषद् अन्योलमा परेको छ ।

सो घटनाले जनप्रतिनिधिबीच विवाद बढेपछि मोरङको रंगेली नगरपालिकामा असारभित्रै नगर परिषद् नहुने भएको हो । कानुनी रूपमा आर्थिक वर्षको समापनसँगै नयाँ आर्थिक वर्षका लागि ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट नगरसभाले पास गर्न नसक्ने देखिएको छ ।

भरत मण्डलले कर्मचारीमाथि गरेको दुव्र्यवहारपछि गत असार २१ गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मण्डलले लेखापाल कृपाराज जोशीमाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधि विभाजित देखिएका हुन् । जोशीलाई हातपात गर्दा छुट्याउने क्रममा रंगेली–३ का वडाध्यक्ष घनश्याम पनेरुमाथि समेत मण्डलले थुकेकोे आरोप छ ।

मादक पदार्थ सेवन गरेर आएका मण्डलले आर्थिक प्रशासन फाँटमा प्रवेश गरी लेखापाल जोशीमाथि हातपात र वडाध्यक्ष पनेरुमाथि दुव्र्यवहार गरेलगत्तै कार्यपालिका बैठकले उनी विरुद्ध कारवाही चलाउने निर्णय गर्दै प्रहरीमा जाहेरी दिइएको थियो । नगर प्रमुख दिलिप बगडियाका अनुसार १९ सदस्यीय कार्यपालिका सदस्यीय बैठकले एकमतले गरेको निर्णय अनुसार मण्डललाई कारवाही हुनुपर्ने माग गरिएको हो ।

कार्यपालिकामा ७ जना कांग्र्रेस, ६ जना संघीय समाजवादी फोरम र ६ जना नेकपा आबद्ध जनप्रतिनिधिको प्रतिनिधित्व छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी कर्मचारीमाथि दुव्र्यवहार गरिएको विषयमा रोष प्रकट गर्दै दोषीलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णयमा सबैले हस्ताक्षर गरे पनि अहिले कांग्रेस निकट जनप्रतिनिधिले नगर परिषद्मा अप्ठ्यारो हुने गरी आन्दोलन थालेको प्रमुख बगडियाको आरोप छ ।

नगरसभापतिका छोरालाई कारवाहीका लागि सिफारिश गर्ने नगर कार्यपालिकाविरुद्ध नेपाली कांग्रेसले आन्दोलन शुरु गरेको ७ दिन बितिसकेको छ । दुव्र्यवहारमा परेका रंगेली–३ का वडाध्यक्ष पनेरुसमेत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका थिए ।

उनीसहित ३ जना वडाध्यक्ष र बाँकी १७ जना सदस्यहरूले नगरसभा गर्ने तयारी भइरहेको नगर परिषद्लाई अप्ठ्यारो पार्दै नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलनको समर्थन गरेका छन् ।

प्रहरीले मण्डललाई पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरी सार्वजनिक मुद्दा लगाएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिएका छन् ।

अहिले नेपाली कांग्रेसले चलाएको आन्दोलनपछि नगरपालिकामा सुरक्षाकर्मी परिचालन गरेर दैनिक कामकाज भइरहेको भए पनि नगर परिषद्को तयारीका लागि समितिको छलफल हुन सकेको छैन । मण्डललाई निःशर्त रिहाइ गरिनुपर्ने, मण्डलमाथि दुव्र्यवहार गर्ने कर्मचारी जोशीलाई कारवाही हुनुपर्ने माग राखेर आन्दोलन थालिएको छ ।

‘यही अवस्था रहे असारभित्रै नगरसभा गर्ने वातावरण सहज देएिको छैन’ नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले भने–विकल्पमा जाने कुरा प्रमुखसहित अन्य जनप्रतिनिधिको निर्णयमा भर पर्छ तर त्यसले द्वन्द्वलाई कायम राख्छ ।

प्रमुख बगडियाले कार्यपालिकामा बहुमत र नगरपरिषद्मा समेत बहुमत हुने अवस्था भए पनि आफूले त्यो निर्णय लिन नसकेको बताएका छन् । उनले कसैलाई अलग्याएर नगरपरिषद् गर्नु गलत हुने देखिएकाले सहमतिको प्रयास जारी रहेको बताएका छन् । कार्यपालिका बैठकले गरेको निर्णयलाई फिर्ता लिँदै आरोपितलाई उन्मुक्ति दिन तयार रहँदा समेत नेपाली कांगे्रसले नमानेको उनको दाबी छ ।

यता आफ्नो छोरालाई पक्राउ गराएर बेइज्जत गर्न लागेको भन्दै नगरसभापति मण्डलले चाहिँ क्षतिपूर्ति भरण गराएर नगर प्रमुखले सार्वजनिक माफी माग्नुपर्ने बताउँदै आएका छन् । उनले कांग्रेस समर्थक कार्यपालिका सदस्यहरूलाई थाहै नदिई निर्णय गरी झुक्याएर हस्ताक्षर गराएको जिकिर समेत गरेका छन् । रंगेली–३ का वडाध्यक्ष पनेरुले भने आफूमाथि मण्डलले दुव्र्यवहार नगरेको तर छुट्याउने क्रममा उनको मुखमा भएको पान उछिट्टिएर लागेको बताए ।

रंगेली–६ बाट निर्वाचित वडाध्यक्ष रूपेशकुमार मण्डलले नगरपरिषद्को नै अवरोध हुने अवस्था आए विकल्प सोच्नुपर्ने सोचमा आफूहरू रहेको बताएका छन् । संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेर निर्वाचित मण्डलले राजनीतिकरण गरेर नगरपालिकाको विकासमा अवरोध पु¥याउन खोजेको आरोप लगाएका छन् ।