इटहरीः इटहरी उपमहानगरपालिकाले तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया अगाडी बढाए सँगै सफारीहरु धमाधम दर्ता सुरु भएको छ । केहि दिन भित्र ५० वटा सफारी दर्ता भएका छन ।
अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाउने भएको छ । प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापन नगरहरूले आफैले व्यवस्थित गर्न अनुमति दिएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।
नगर प्रमुख हेमकर्ण पौडेलले ई–रिक्सा सञ्चालक र सम्बन्धित सरोकारवालासँग बैठक बसी दर्ता प्रक्रियामा लाग्ने शुल्क घटाईएको बताए । बढि शुल्क राखिएको भन्दै बिरोधमा उत्रिएका सफारी चालकहरु शुल्क घटाए संगै सहमतीमा आएका हुन ।
इटहरीको मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै, व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जस्लेगर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।
सफारीलाइ व्यवस्थापन गर्दै लैजानुपर्ने सबैको दायित्व भएको नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ थियो । तीनपाङ्ग्रे(ई(रिक्सा) व्यवस्थापन सम्वन्धी कार्यविधी २०७९ संशोधन गरि ई-रिक्सा दर्ता गर्ने कार्य निरन्तर रुपमा अघि बढाउन सहमति गरेको बताए ।
यस अघि पारित भएको सरसफाई तथा पार्किङ्ग शुल्क खारेज गर्ने । बिमा अनिवार्य नगर्ने , ई-रिक्सा दर्ता शुल्क रु १४००/-लाई घटाएर रु ११००/-कायम गर्ने , बाटो ईजाजत पत्र शुल्क रु १५००/- लाई घटाएर रु १२००/-कायम गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।
यसबाहेक कार्यविधिमा भएका अनुसुची-१ बमोजिम लाग्ने अन्य शुल्क यथावत लाग्ने उपमहानगरले जनाएको छ ।