झापाः झापाको मेचीनगरमा २ सय ५० प्रजातिका चराको बासस्थान छ । त्यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुपीलगायत विभिन्न प्रकारका चरा रहेको विगत ३ वर्षदेखि चराको अध्ययन गरिरहेका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताए ।
धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औँ स्थानमा छ । नेपालमा ९ सय प्रकारका चरा पाइएकामा २ सय ५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उनको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेंसीबजार क्षेत्र चराको राजधानी नै हो ।
मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ । रैथाने चराहरू भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उनले बताए । चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको उनी बताउँछन् ।
मेचीनगरमा ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेल बताउँछन् ।
मेचीनगर–६ काँकडभिट्टास्थित ‘इस्टपोइन्ट फोटो एण्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहेका उनले विगत ३ वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने काम गर्दै आएका छन् ।
आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने उनले बताए ।
घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्ने खरेलको भनाइ छ । मेचीनगर क्षेत्रका ८ वटा सामुदायिक वनमा विभिन्न जातिका चरा पाइन्छन् ।