इटहरीः ग्लोबल आईएमइ बैंकको गुण्डागर्दी शैलीका विरुद्ध भोली(सोमबार) इटहरी बजार बन्दको आह्रवान गरिएको छ ।
इटहरीको विराटनर लाइन स्थित शुभलक्ष्मी ज्वेलर्स भित्र आइतबार बैंकको इटहरी शाखाका कर्मचारीले हातहतियार सहितको प्रहरी समेत लिएर गई जवरजस्ती सुन र अन्य सरसामान जफत गर्न खोजेर व्यपारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको जनाउँदै उद्योग वाणिज्य संघ इटहरीले आपत्ति जनाउँदै भोली( सोमबार) बजार बन्दको आह्रवान गरेको हो ।
कोरोना महामारी र त्यसपछि आएको आर्थिक मन्दीका कारण व्यवसाय चौपट भएकाले नियमित रुपमा बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले सो पलका नाममा ऋण लिदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना समेत प्रकाशन गरिसकेको थियो ।
सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रकृगा अगाडि बढाईसकेपनि आइतबार एकाएक हतियार सहितको प्रहरी लिएर आएर बैंकका कर्मचारीहरुले गुण्डागर्दीशैलीमा सुन, बनाइएका गरगहना, पैसा र अन्य सामानहरु जवरजस्ती जफत गर्न खोजेपछि उद्योग वाणिज्य संघलाई पसल संचालकले तत्काल खबर गरेको इटहरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
वाणिज्य संघ घटना स्थल तत्काल पुगि बैंकको गुण्डागर्दी शैली विरुद्ध शसक्त रुपमा प्रस्तुत भएपछि हतियार सहितका प्रहरी लिएर आएका बैंकका कर्मचारीहरु पछि हटेको पराजुलीले बताए ।
बैंकले नियम अनुसार आवश्यक प्रकृगा अगाडि बढाई सकेको र ऋणी श्रेष्ठले पनि सोही बैंकको केन्द्रिय कार्यालयमा कुरा गरि ऋण पुरै तिर्ने कुरा भईसक्दा इटहरी शाखाका कर्मचारीहरुले गुण्डागर्दीशैली प्रस्तुत गरे । यो इटहरी उद्योग वाणिज्य संघलाई स्वीकार्य नहुँने पराजुलीले बताए ।
उनका अनुसार भोली सोमबार बिहान ८ बजे बैंकको गुण्डागर्दी शैली विरुद्ध इटहरीका आम व्यवसासायीहरु सडकमा उत्रिएर नारावाजी गर्ने र बजारका सबै पसलहरु बन्द गराइने छ । बैंकको गुण्डागर्दी शैलीको आपत्ति जनाउँदै अध्यक्ष पराजुलीले सोमबार बजार बन्दको आह्रवान गरी सूचना समेत प्रकाशन गरिसकेका छन् ।