इटहरीः पाँचथरको फालेलुङ गाउँपालिकाले आगामी बर्षदेखि  शिक्षकको सरुवा सहमतीमा १५ हजार रुपैयासम्म दस्तुर लिने निर्णय गरेको छ । पालिकाले आफ्नो नीति कार्यक्रम र बजेट मार्फत दस्तुर लिने निर्णय गरेको हो । गाँपालिकाको यस्तो निर्णय प्रति शिक्षक र उनिहरुसंग सम्बन्धित संस्थाहरुले विरोध जनाएका छन् । 

गाउँपालिकाभित्रको कुनै विद्यालयमा पाँच वर्षभन्दा कम समय काम गरेको शिक्षकलाई सरुवा सहमती दिँदा १५ हजार रुपैया लिने भएको हो । पाँच वर्षभन्दा बढी समय काम गरेको शिक्षकको लागि भने १२ हजार रुपैया शुल्क तोकिएको छ । 

यसैगरी पाँच वर्षभन्दा बढी समय काम गरेका शिक्षकलाई गाउँपालिकाभित्रै सरुवा सिफारिस दिँदा ५ हजार रुपैया, जिल्लाभित्र सहमती दिनुपर्दा ८ हजार अनि जिल्लाबाहिरको सहमतीको लागि १० हजार रुपैया तोकिएको छ । प्राथमिक तहमा पाँच वर्षबढी काम गरेकाहरुको लागि भने गाउँपालिका भित्र सरुवा सिफारिसमा तीन हजार रुपैया तोकिएको छ ।

शिक्षकहरुले यो शुल्कको विरोध गरेका छन् । सहमतीको एउटा कागजको धेरै शुल्क लिन खोजेको भन्दै विरोध जनाएका हुन् ।

355083982_3496233923967995_4181966294419892699_n (1) 1

आएको भोलिपल्टदेखि सरुवा माग्न थालेपछि शुल्क निर्धारणः गाउँपालिका अध्यक्ष 

यता गाउँपालिकाको पीडा भने छुट्टै छ । नियुक्ति लिएर गाउँपालिकामा आएको भोलिपल्टदेखि विभिन्न बहाना बनाएर सरुवा लिन खोज्ने शिक्षकहरुको कारण धेरै शुल्क राखिएको अध्यक्ष वीर विक्रम थाम्सुहाङ बताउँछन् ।

उनले शिक्षकहरु जिम्मेवार नबन्ने गरेको र आफूले नियुक्ति पाएको विद्यालयबाट सकेसम्म छिटो सरुवा खोज्ने प्रवृत्ति निरुत्साहित गर्न गाउँपालिकाले नीति बनाएको बताए । ‘दुःख गरेर करारमा काम गरिरहेको शिक्षकलाई प्रतिस्थापन गर्ने गरी स्थायी शिक्षक नियुक्ती लिएर आउँछ, करारको शिक्षकलाई विदा गरेर उसलाई राख्छौं,’  उनले भने, ‘तर जागिर खाएको भोलिपल्टै देखि विभिन्न बहाना बनाउँदै सरुवाको प्रक्रियामा लाग्छ, यो ठूलो समस्या बनेको छ ।’

उनकाअनुसार विगत डेढ महिनाभित्र ४० जना शिक्षकहरु पालिकामा स्थायी नियुक्ति लिएर आएको तर धेरैजसो सरुवाको प्रक्रियामा लागेपछि विद्यालयहरुको शैक्षिक गतिविधिमै असर पुगेको बताए ।