खोटाङः लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका खोटाङका २१ किसान पुरस्कृत भएका छन् ।

दिक्तेल बजारमा शनिबार सम्पन्न २ दिने बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, माछा, तेलहन÷ दलहन÷ नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको हो ।

जिल्लाका किसानलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी पहिलो भएका छन् । दिक्तेलका अम्बिका आचार्य दोस्रो, सोल्माका यामकुमार श्रेष्ठ तेस्रो भएका छन् ।

फलफूलतर्फ याम्खाका रामबहादुर कुँवर पहिलो, विजयखर्कका जीवराज पोखरेल दोस्रो र बुइपाका सुमन राई तेस्रो भएका छन् ।
आलु बालीतर्फ खाल्लेका केदार कटवाल पहिलो, खाल्लेकै उषा राई दोस्रो र दिक्तेलका विकास आचार्यले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, माछा समूहमा सोल्माका पेशल कार्की पहिलो, नेर्पाका दुर्गाप्रसाद रिजाल दोस्रो र राम बजगाईं तेस्रो भएका छन् । तरकारी बाली समूहमा दिक्तेलकी खिनमाया आचार्य पहिलो, याम्खाका सुरज कँुवर दोस्रो र बाम्राङका शान्तिनारायण जोशी तेस्रो भएका छन् ।

दलहन÷तेलहन तथा नगदे बालीतर्फ निर्मलीडाँडाका लीलाप्रसाद आचार्य पहिलो, दिक्तेलका उमेशचन्द्र आचार्य दोस्रो र दिक्तेलकै गोमा आचार्य तेस्रो भएका छन् । विविध समूहमा बुइपाका नन्दप्रसाद घिमिरे पहिलो, बाम्राङका कमल खत्री दोस्रो र पाथेकाका देउकुमार राई तेस्रो भएका छन् ।

अर्गानिक कृषि उपज उत्पादन एवं बजारीकरणका लागि शुक्रबार र शनिबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रो भएका किसानलाई क्रमशः जनही रु ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रदर्शनीका उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार अदुवाका पिता मानिने अगुवा किसान सुरमान राईलाई नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ । उनलाई जिल्लामा ‘अदुवा बुढा’को नामले चिनिन्छ ।

कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा वि.सं २०६५ देखि सञ्चालन हुँदै आएको बृहत कृषि मेला एवं औद्योगिक प्रदर्शनीकै निरन्तरता स्वरूप कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति, सवल परियोजना, शुभम् फाउण्डेशन, बालसेवा समाजलगायतको संयुक्त सहकार्यमा गरिएको बताइएको छ ।