इलामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाएजस्तो सुस्त नरहेको बताएका छन् ।
इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले दिगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याए । ‘विकास र समृद्धि भनेको तत्काल देखिँदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो’, उनले भने ।
नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गरे । पूर्व उपप्रधानमन्त्री रायमाझीले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गरे ।
पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उनले जानकारी दिए । उनले लामो समयपछि स्थायी समितिको बैठक बसेर सबै विषयमा छलफल भएकाले एकताको काम छिट्टै हुनेमा विश्वस्त हुन आग्रह गरे ।