धरान: अहिले थुप्रै स्कुल, कलेजमा मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट निषेध गरिएको छ । तर, यस्तो गर्नु गलत भएको इटहरीको जनता बहुमुखी क्याम्पसका सहप्राध्यापक टोलनाथ काफ्ले बताउँछन् ।
‘२१ औँ शताब्दीमा विद्यालय शिक्षा र नेपालमा यसको आवश्यकता’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै काफ्लेले यस्तो तर्क गरेका हुन् । आधुनिक प्रविधिको जमानामा थ्री एम भनिने मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट निषेध गर्न नहुने काफ्लेको तर्क छ ।
‘नेपालको वर्तमान विद्यालय शिक्षाका चुनौती’ नामक उपशीर्षकको ९ नम्बर बुँदाको व्याख्या गर्दै काफ्लेले यस्तो बताएका हुन् । प्रयोगमा ल्याउन सकिने कुरामा पनि निषेध गर्न समस्या भएको भन्दै काफ्लेले यस्तो तर्क गरेका हुन् ।
आज धरानको युरेका स्कुलको २५ औं वर्ष पुगेको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा काफ्लेले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिवेदनमा प्रतिक्रिया दिँदै प्राध्यापक डाक्टर टङ्कप्रसाद न्यौपानेले पनि काफ्लेको कुरामा सहमति जनाएका थिए । न्यौपानेले मोबाइल निषेधको विपक्षमा धेरै बोले । उनले भने, ‘आज मोबाइलका कारण पढाइमा धेरै सजिलो भएको छ ।’
अनलाइनका कुरा मोबाइलबाट सजिलोसँग पाउन सकिन्छ । तर, मोबाइल निषेध गरिएको छ ।’ अध्ययनमा मोबाइल समावेश गर्ने तर अध्ययन बाहेकको प्रयोजनमा भने नियमन हुनुपर्ने प्राध्यापक डाक्टर न्यौपानेले बताए ।