इटहरीः सेवाग्राहीबाट २ लाख घुस लिँदा लिँदै सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई अख्तियारको टोलीले सुक्रबार उनको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको छ । 

ढकाललाई इटहरीबाट खटिएको अख्तियारको टोलीले घुस वापत लिइएको २ लाख रकम सहित रंगेहात पक्राउ गरेको हो । 

लेखा अधिकृत घुस सहित रंगेहात पक्राउ गरेको खबर सुन्नसाथ सुन्दरहरैंचाका बिभिन्न वडाहरुबाट स्थानीयहरु नगरपालिका परिसरमा भेला भई भ्रष्टाचार विरुद्ध चर्का नाराबाजी गरेका थिए । उनिहरुले लेखाअधिकृत एक्लैले सो घुस वापत नलिएको दावी गर्दै नगरपालिकाका अन्य उपल्लो तहका व्यक्तिहरुको समेत संलग्नता लिएकाले चित्तबुझ्दो तरिकाले छानविन हुनु पर्ने माग राखेका छन्  । सुन्दरहरैंचा नगरपालिकामा पहिलाबाटै कर्मचारीहरुले बिभिन्न बहनामा सेवाग्राहीलाई दुःख दिई मोटो रकम असुल्दै आएको चर्चा भएको तर सो चर्चालाई ढकाल पक्राउ परेपछि पुष्टि गरेको सुन्दरहरैंचाबासीको दावी छ । 

प्रहरी सहित आएको अख्तियारको टोलीले लेखा अधिकृत ढकाललाई उनकै कार्यकक्षमा रंगेहात पक्राउ गरे लगत्तै अरु कसैलाई सो कार्यकक्षमा प्रवेश गर्न नदिई निकै लामो समय लगाएर मुचुल्का तयार पारेको थियो । स्थानीय पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाइएको थियो । अख्तियारले आफ्ना सबै कानूनी प्रकृया सकेपछि ढकाललाई कार्यकक्षबाट बाहिर निकाली गाडीमा राखेको थियो । उनलाई अख्तियारको टोलीले बाहिर निकाल्दा आक्रोशित स्थानीयहरुले चर्का नारा लगाउँदै कडा सजायको माग राखेका थिए । उनलाई कार्यालयबाट बाहिर(तल) ल्याई अख्तियारको टोलीले गाडिमा राख्दा सबैलाई दुई हात जोड्दै नमस्कार गरेका थिए । उनका सवारी चालकलाई आफु गएको है भन्दै विदा मागेका थिए । उनको सो कार्य देखेर अख्तियारको गाडी घेरेर बसेको स्थानीयको भीडले माथिबाटै अधिकृतलाई सिकाएकाले सोही अनुसार लाज पचाएर सबैलाई दुईहात जोडेर नमस्कार गरेको आरोप समेत लगाएका थिए । 

उनलाई बाहिर निकालेपछि अख्तियारको टोलीले सो कार्यालयमा पत्रकारहरुसंग कुरा गर्न चाहेपनि थामि नसक्नु स्थानीय भीड भएपछि उनलाई नियन्त्रणमा लिन इटहरीबाट आएको अख्तियारका कुनै कर्मचारीले प्रतिक्रिया दिन मानेनन् । 

लेखाअधिकृत ढकाललाई आवश्यक छानविन गरि कानूनी कार्वाहीका लागि सुक्रबार नै काठमाडौं लगिने अख्तियार स्रोतले जनाएको छ । उनलाई स प्रमाण अख्तियारले बिषेश अदालतमा मुद्धा दर्ता गर्ने बताइएको छ । रंगेहात प्रमाणसहित पक्राउ परेका कर्मचारीहरु यसअघि पनि पटक पटक पक्राउ परेका तर भटाभट सफाई लिँदै पुनः सोही कार्यालयमा हाजिर भएका घटनाले अख्तियार र अदालतको कार्यप्रति स्थानीयले शंका समेत गरेका छन् ।