इटहरीः प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदको हिउँदे अधिवेशन चाँडो शुरु गर्न माग गरेका छन् । हिउँदे अधिवेशन शुरु हुन नसक्दा प्रदेशले कानुनको अभावमा समस्या झेलिरहेको काङ्ग्रेसको बुझाइ छ ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीका अनुसार प्रदेश सरकारले अधिवेशन अह्वान गर्न नसक्दा कानुनको अभाव परिपूर्ति हुन सकेको छैन । कतिपय प्रदेश सरकारका निर्णय र योजना पनि कानुनको अभावमा प्रभावित भएको उनको भनाइ छ । उनले सरकार आफू सफल बन्न र सङ्घीयताको अभ्यासलाई सफल बनाउन पनि छिटोभन्दा छिटो हिउँदे अधिवेशन बोलाउनुपर्ने बताए ।
सरकारको आफ्नो जिम्मेवारीभित्रको कुरा भएकाले प्रतिपक्षीले धेरै बोल्न जरुरी नभएको उनको भनाइ छ । ‘बिजनेस नभएका कारण सरकारले अधिवेशन अह्वान नगरेको भन्ने सुनिएको छ’, उनले भने, ‘हिजो जनतामाझ गरिएका वाचाहरू पूरा गर्नुपर्छ भन्ने अलिकति पनि जिम्मेवारीपन बोध भए अधिवेशन चाँडो बोलाउँदा हुन्छ ।’
अहिले कानुन बनाउनुपर्ने भएकाले प्रदेशको नाम र राजधानीको प्रसङ्ग धेरै उचाल्न नहुने उनको धारणा छ । राजधानी र नामको विषय जटिल भएकाले यसलाई बढी भावनात्मक भएर टिपणी गर्न नमिल्ने उनको भनाइ छ ।
‘अहिले यो सरकारसँगै धेरै काम गर्नुपर्ने जिम्मेवारी छ । तर सरकार कता अलमलिएको छ भन्ने ठेगान छैन’, उनले भने, ‘काम नगर्ने तर हल्ला बढी गर्नमै सरकार व्यस्त छ । अध्यादेशमार्फत् कानुन ल्याएर संसदीय व्यवस्थामाथि सरकार खेल्न खोज्दैछ ।’