सङ्खुवासभाः प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आउँदो अधिवेशनमा प्रदेशले नाम र राजधानी पाउने बताएका छन् । माघको दोस्रो या तेस्रो सातामा प्रदेशको हिउँदे अधिवेशन आह्वान हुने भन्दै मन्त्री कार्कीले प्रदेशले नाम र राजधानी पाउन अब धेरै कुर्न नपर्ने बताए ।

मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको विषयमा पार्टीमा आन्तरिक छलफल शुरु भएको भन्दै प्रतिपक्षीसहित अन्य पार्टीसँग पनि छलफल गरेर टुङ्गोमा पुग्ने बताए । उनले भने, ‘सबै पार्टीको सहमतिमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्छ । सहमति नभए बहुमतले सबैको साझा र छोटो नाम राख्छौँ । राजधानीको विषय अलि गम्भीर हुने हुनाले मुलुकको राष्ट्रियता र दीर्घकालीन हितलाई हेरेर सहमतिमा नै राजधानी तय गरिने उनले बताए ।

शहीद स्मृति प्रतिष्ठान सङ्खुवासभाको भवन उद्घाटनको क्रममा सङ्खुवासभा आइपुगेका मन्त्री कार्कीले आइतबार सदरमुकाम खाँदबारीमा पत्रकारसँगको भेटघाटमा सङ्घीय कानुनको अभावका कारण प्रदेश १ को हिउँदे अधिवेशन प्रभावित भएको बताए ।
मन्त्री कार्कीले प्रदेश १ सरकारले हाल तीन प्रकृतिका २४ कानुन निर्माण गरिसकेको बताए । ‘हामीले दैनिक कार्यसञ्चालनसम्बन्धी कानुन, स्थानीय तहले दैनिक गतिविधि सञ्चालन गर्ने कानुन र केहि संरचनागत विकासका लागि कानुन बनाएका छौँ,’ उनले भने, ‘अब नियमावली र निर्देशिका बन्छन् ।’

मन्त्री कार्कीले सङ्घीय सरकारले करिब ३ हजार ७ सय कर्मचारी प्रदेशको लागि खटाए पनि प्रदेशमा भने करिब २ हजार कर्मचारी मात्रै हाजिर भएको बताए । आएका सबै कर्मचारी पनि प्रदेशमा बसेर काम गर्ने मनस्थितिमा नभएको उनले टिप्पणी गरे । दक्ष कर्मचारी नहुँदा प्रदेश सरकारलाई असहज भएको पनि उनले बताए

‘चोर अत्याधुनिक प्रविधि प्रयोग गर्छ, प्रहरीसँग भरपर्दो गाडी छैन’
मन्त्री कार्कीले सङ्खुवासभामा करिब ४ सय ७५ जना प्रहरीको दरबन्दी रहेको भन्दै हाल ९० जना मात्रै कार्यरत रहेकाले केही समस्या भएको बताए ।

उनले जिल्लामा विभिन्न ठूला परियोजना समेत सञ्चालनमा रहेकाले त्यसको पनि सुरक्षामा प्रहरी लाग्नुपरेको तर कम जनशक्ति भएको आफूले बुझेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहमा प्रहरीको सङ्ख्या पु¥याउन अझै ४ सय प्रहरी आवश्यक भएको बताए ।

मन्त्री कार्कीले प्रहरीसँग भरपर्दो सवारी नहुँदा पनि समस्या भइरहेको बताए । उनले भने, ‘चोर्न आउने मान्छेहरू अत्याधुनिक सामग्री प्रयोग गर्छन् हाम्रा पुलिससँग भने भरपर्दो गाडीसमेत छैन ।’ आफू सङ्खुवासभा आउँदा हिउँमा आफ्नो गाडी गुडेको तर आफूलाई स्कर्टिङ गर्ने प्रहरीको गाडी गुड्न नसकेको बताए ।

प्रहरीसम्बन्धी कानुन बन्न नसक्दा प्रदेश सरकारको मातहतमा प्रहरी जनशक्ति परिचालन हुन नपाएको उनको भनाइ थियो । जिल्लामा विभिन्न राष्ट्रिय महत्वका आयोजना पनि सञ्चालन भइरहेकाले सङ्खुवासभा जिल्लामा सुरक्षाकर्मी थप्नका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए ।

मन्त्री कार्कीले प्रदेश सरकारले क्षमताभन्दा बढी गतिमा काम गरिरहेको बताउँदै जनताले खोजेको रिजल्ट भने दिन नसकेको स्वीकारे ।