भेडेटार (धनकुटा)ः प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईले भेडेटारलाई प्रदेशकै प्रमुख गन्तव्य बनाइने बताएका छन् । त्यस क्रममा प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको राईले बताए ।

साँगुरीगढी गाउँपालिकाको भेडेटारमा आयोजित सातौैं फुड फेस्टिबल उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राईले भने, ‘यसअघिका ६ वटा महोत्सव कसरी गर्नुभयो, मलाई थाहा छैन । तर यो सातौं महोत्सव देश समृद्धिको बाटोतिर लागेको बेलामा भएको छ ।’

देश सङ्घीयतामा गएर ३ वटा तहका सरकार बनिसकेको र विकासलाई योजनाबद्ध ढङ्गले अघि बढाउने क्रममा प्रदेश सरकार रहेको बेलामा फेस्टिबल भएकाले यो फेस्टिबलबाट भेडेटारले धेरै फाइदा लिन सक्ने उनले बताए ।

‘भेडेटार आफैंमा प्रकृतिले भरिपूर्ण देश भए पनि राज्यले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न सकेन’, राईले भने, ‘विगतमा राज्य काठमाडौंमा थियो तर अब सिंहदरबारको सरकार गाउँगाउँमा आएको छ ।’ प्रदेश सरकारले भेडेटारको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने राईले बताए । स्थानीय सरकार र प्रदेश सरकार पर्यटनको विकासमा सदैव लागिपर्ने उनले बताए । प्रदेश सरकारको उच्च प्राथमिकतामा भेडेटार रहेको राईको भनाइ थियो ।

भेडेटारबाट २ वटा कुरा उद्घोष
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राईले आफू मुख्य २ वटा कुरा ‘सेयर’ गर्न भेडेटार आएको राईको भनाइ थियो । ‘यो ठाउँलाई प्रदेश नम्बर १ को १ नम्बर पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको अवधारणा छ’ राईले भने, ‘भेडेटारको विकासमा साझेदारी गर्नका लागि निजी क्षेत्र पनि तयार हुनुपर्छ ।’

भेडेटारको पर्यटकीय विकासका लागि अब ठूला पर्यटकीय पूर्वाधार बन्नुपर्ने राईको धारणा थियो । ‘पर्यटकीय क्षेत्रको विकास गर्न अहिले भएका होटलमात्रै पर्याप्त हुँदैनन्’, राईले भने, ‘त्यसका लागि सुविधासम्पन्न धेरै होटल बन्नु आवश्यक छ ।’ भेडेटारमा आकर्षक पार्क बन्नुपर्ने अनि केबलकार सञ्चालन हुनुपर्ने राईले बताए ।

भेडेटार तथा आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नै प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरेको उनको भनाइ थियो । भेडेटारको पर्यटनको विकासका लागि गर्नुपर्ने कामको विवरण समेटिएको योजना लिएर प्रदेश सरकारसँग समन्वय गर्न पनि मुख्यमन्त्री राईले सुझाए । प्रदेशले पर्यटन, कृषि, ऊर्जालगायतका अन्य विभिन्न क्षेत्रमा गर्न सकिने विकासका लागि काम गरिरहेको पनि उनले बताए ।

अब बस्ने प्रदेश सभाको हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी तोकिने र त्यसपछि विकासका काम दु्रत गतिमा अघि बढ्ने मुख्यमन्त्री राईले बताए । हिमाल, पहाड र तराईको विकासको लागि फरकफरक अवधारणा लिएर अघि बढ्ने उनको भनाइ थियो ।

पार्क र पार्किङ आवश्यक
मुख्यमन्त्री राईले भेडेटारमा घुम्नका लागि पार्क र सवारी साधन राख्न पार्किङको समस्या रहेको आफूले जानकारी पाएको बताए । स्थानीय सरकारसँग सहकार्य गरेर भेडेटारमा पार्क बनाउन र पार्किङको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए । प्रदेशकै नमुना पार्क र पार्किङ स्थल बनाउन प्रदेश सरकारले चाहेको राईले उद्घोष गरे । प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र मिलेर नमुना काम गर्न प्रदेश सरकार इच्छुक रहेको उनको भनाइ थियो ।